लिले र मोनाको विजयी

लिले र मोनाको विजयी

पेरिस : लिले र मोनाकोले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेका छन्। आइतबार राति भएको खेलमा लिलेले रेम्सलाई १–० गोलले हरायो। अर्को खेलमा मोनाकोले मेट्जलाई पनि १–० गोल अन्तरले नै पाखा लगायो।

निकै प्रतिस्पर्धात्मक खेलमा लिलेलाई जिताउन जोनाथन बम्बाले निर्णायक गोल गरे। जोनाथनले ३२औं मिनेटमा गरेको गोल नै टोलीको जितमा पर्याप्त बन्यो। खेलको अन्तिमसम्म गोल फर्काउने रेम्सको प्रयास सफल हुन सकेन। जितसँगै दुई खेलबाट चार अंक बनाएको लिले तालिकाको चौथो स्थानमा छ। एक अंक बनाएको रेम्स १३औं स्थानमा छ।

यसैगरी मोनाकोको जितमा बेनोइट बाडिसाइन नायक बने। बेनोइटले २२औं मिनेटमा गरेको गोलले नै मोनाकोलाई जित दिलायो। मोनाको दोस्रो हाफको सुरुआतमै १० खेलाडीमा समेटिएको थियो। ४७औं मिनेटमा युसुफ फोफाना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। तर पनि मेट्जले यसको फाइदा उठाउन सकेन। जितसँगै मोनाको पाँचौं स्थानमा उक्लिएको छ। मोनाकोले दुई खेलबाट चार अंक बनाएको छ। एक अंक बनाएको मेट्ज १७औं स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा बोर्डेक्सले एन्जर्सलाई २–० गोलले स्तब्ध बनायो। एकपक्षीय खेलमा बोर्डेक्सले दुवै गोल पहिलो हाफमा गरेको थियो। बोर्डेक्सको जितमा जोह मजाले २७औं मिनेटमा गोलको खाता खोलेका थिए। दुई मिनेटलगत्तै टम बासिकले गोल गर्दै बोर्डेक्सको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा बोर्डेक्स सजिलै विजयी भयो। जितसँगै चार अंक बनाएको बोर्डेक्स दोस्रो स्थानमा उक्लिएको छ। बोर्डेक्सले गोल अन्तरका आधारमा रेनसलाई पछि पारेको छ। समान खेलबाट तीन अंक बनाएको एन्जर्स १२औं स्थानमा छ।

यसैगरी अन्य खेलमा नान्टेजले निम्सलाई २–१ गोलले हरायो। मार्सेलीले ब्रेस्टलाई ३–२ तथा सेन्ट इटिनेले लोरेन्टलाई २–० गोलले स्तब्ध बनायो।

सम्बन्धित खवर