विद्युत प्राधिकरणमा फेरी पनि कुलमान आउँदै

विद्युत प्राधिकरणमा फेरी पनि कुलमान आउँदै

काठमाडौ : विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङ आउने सम्भावना बढेको छ । घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएपछि फेरी उनी दोहोरिने सम्भावना बढेको हो । ऊर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने गरी प्रस्ताव तयार गरेको बुझिएको छ ।

घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिने भएकाले रिक्त हुन लागेको पदका लागि दावी गर्दै अन्य केहीले पनि दौडधुप सुरु गरेका थिए । सामाजिक सञ्जालमा कुलमानलाई नै निरन्तराता दिनुपनुै भन्दै माग उठेको थियो । सर्वसाधारण देखि कलाकारहरुले समेत सामाजिक अभियान सुरु गरेका थिए ।

ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेको श्रोतले बताएको छ । यस अघि प्रधानमन्त्री ओली उनलाई निरन्तरता नदिने पक्षमा रहेको कुरा सार्वजनिक भएको थियो । तर अहिले भने प्रधानमन्त्री पनि कुलमानलाई नै निरन्तरता दिने विषयमा तयार भएको बताइएको छ । मन्त्री पुनका सचिवालय सदस्यले त्यसको खुलासा गरेका छन् ।

तर त्यसका लागि सरकारसंग समन्वय गरेर काम गर्न कुलमानलाई सर्त राखिएको छ । सुरुवा बढुवाले कुलमानले सरकारलाई वेवास्ता गरेको आरोप उनीमाथि लागेपछि प्रधानमन्त्री असन्तुष्ट भएका थिए । विद्युत प्राधिकरण पनि सरकारकै एक निकाय हो भन्ने कुरा मनन गर्न प्रधानमन्त्रीले सुझाव दिएको बुझिएको छ ।

सम्बन्धित खवर