पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु

पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु

जुम्ला, जुम्ला र कालिकोटको सिमाना नाग्मा बजारमा आइतबार गएको पहिरोमा परी मर्नेको सङ्ख्या १० पुगेको छ । पहिरोले एउटै घरका ४ सहित १० जनाको ज्यान लिएको हो ।

मृत्यु्हुनेहरुमा ४० वर्षीय प्रयाक शाही, ८ वर्षीय छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा अब्बल शाही छन् । त्यसै गरी तिला गुफा नगरपालिका १ का ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेक बहादुर दमाई र उनकै श्रीमती वर्ष २५ की छाड्नु दमाई र उनका छोरा वर्ष १० का गजेन्द्र दमाई रहेका छन् ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको डिएसपी लालबहादुर धामीले जानकारी दिनुभयो । पहिरोमा घाइते भएकी पुर्णा शाहीको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । अर्का घाइते अर्जुन हमाल सामान्य उपचारपछि फर्किएका छन् । पहिरो पन्छाउनेक्रम जारी रहेकोले अझै मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कालिकोटका डिएसपी श्याम ओलिया पहिरो पन्छाउन जुम्ला र कालिकोटका सुरक्षाकर्मी खटिएको बताउनुहुन्छ । स्थानीय मुनविर कटुवाल, लाल नेपाली र बीर परियारको घरको पहिरो पन्छाउने काम अझै जारी रहेको ओलियाले जानकारी दिनुभयो । तीनैवटा घरका सबै परिवारका सदस्य पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको शङ्का छ ।”

नाग्म बजारको माथि रहेका खेतहरूमा पानी छोडेपछि भिरालो जमिन भासिएर पहिरो आएको स्थानीयहरू बताउँछन् । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण मानिसहरू घरभित्रै बसेको अवस्थामा पहिरो गएकोले ठुलो क्षति हुन पुगेको बताइन्छ ।

सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जुम्ला तथा कालिकोटबाट समयमै उद्धार हुन नसकेको स्थानीय मुनि बुढाले बताउनुभयो । रेडियो नेपाल

सम्बन्धित खवर