मोरङमा ४५ सहित प्रदेश १ मा ९५ कोरोना संक्रमित थपिए

मोरङमा ४५ सहित प्रदेश १ मा ९५ कोरोना संक्रमित थपिए

 

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगरमा थप ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २१ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । उता सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला र ४ पुरुष, इनरुवामा १ महिला र ५ पुरुष, धरानमा १ महिला र ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसैगरी झापाको कन्काईमा २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका २३ जना छन् भने ९ जना अन्य प्रदेशका छन् । आइतबार मात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान १७ का २ जनाको मृत्यु भएको छ । मृत्यु हुने आमाछोरा हुन् ।

प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५३४ पुगेको छ ।

आइतबार प्रदेशमा १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । अहिलेसम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर