खोटाङ : बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङको ऐसेलुखर्कमा एक बालकको मृत्यु भएको छ।
ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।
घरनजिकैको सुठुनीबारीमा बाँदर धपाउन शुक्रवार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो। प्रहरीले गोली चलाउने मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ।
मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले ढिलो मात्र जानकारी आएको हो ।
बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी ज्वाई) को घरमा बस्दै आएका थिए। बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताउनुभयो ।