कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक छ ः मन्त्री ढकाल

कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक छ ः मन्त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैको साथ आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार विभिन्न संघ संस्थाहरुसंगको छलफलका क्रममा सो कुरा बताउनुभएको हो ।

मन्त्री ढकालले मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग छलफल गर्नुभयो ।

उहाँले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताउनुभयो । काम गर्नेक्रममा केही त्यस्ता कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने ढकालले बताउनुभयो । उहाँले कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो ।

मन्त्री ढकालले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने बताउनुभयो ।

उहाँले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्थाहेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिलाको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गर्नुभयो ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाँइमा विजय प्राप्त गर्न सकिने बताउनुभयो । महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने भन्दै मन्त्री ढकालले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने बताउनुभयो ।
छलफलमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताउनुभयो । महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य प्रयोगशालाकर्मी संघ (मेलान)का अध्यक्ष राजेन्द्र खड्काले स्वास्थ्यकर्मी माथि कमजोरी गर्ने र दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनुभयो । दिनभर नमुना संकलन गरेको व्यक्ति बेलुका घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै छुट्टै बस्ने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर