हिरासतमा रहेका युवाको मृत्यु, प्रहरीले वढि यातना दिएको स्थानीयको आरोप

हिरासतमा रहेका युवाको मृत्यु, प्रहरीले वढि यातना दिएको स्थानीयको आरोप

राजेन्द्र महतो, लहान

प्रहरी हिरासतमा रहेका एक युवकको ज्यान गएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय रामको ज्यान गएको हो । प्रहरी हिरासतमा दिएको चरम यातनाका कारण युवकको ज्यान गएको स्थानीयको आरोप छ ।

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताएका छन् ।

प्रहरी प्रशासन कै कारणले हत्या भएकाले डिएसपी ज्ञानकुमार महतोलाई निलम्बन गर्न स्थानीयले सरकार समक्ष माग गरेका छन् । मृतकलाई शहिद घोषण गर्न दलित जागरण केन्द्र नेपालका सचिव संजय महराले माग गरेका छन् । महराका अनुसार मधेसी दलितलाई दिनदिनै राज्य द्वारानै यसरी यातना दिएर हत्या हुनु निन्दनीय र खेदजनक हो । उनले तमाम दलितहरू न्यायका लागि संघर्षमा उत्रन आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर