पीसीआरको विषयमा गाउँपालिकाको जवाफ, ‘मुख सम्हालेर बोल भाइ’

पीसीआरको विषयमा गाउँपालिकाको जवाफ, ‘मुख सम्हालेर बोल भाइ’

पोखरा : कोरोना नियन्त्रणमा अन्यत्रको भन्दा पर्वतको मोडालिटी फरक छ । बाहिरबाट आउने सबैलाई सुरुमा जिल्ला सदरमुकाम कुश्मामा बनाइएको क्‍वारेन्टिनमा राख्‍ने र पीसीआर गरिन्छ ।

रिपोर्ट पोजिटिभ आए कुश्मामै बनाइएको कोरोना अस्पतालको आइसोलेसनमा राखिन्छ । नेगेटिभ आएपछि सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले बनाएको क्‍वारेन्टिनमा १४ दिन राखेपछि मात्रै घर पठाउने मोडालिटी पर्वतले अपनाएको छ ।

स्थानीय तहमै कोरोना संक्रमण नपुगे पनि संक्रमण फैलिएको छ कि भन्‍ने आशंकासहित पर्वतको विहादी गाउँपालिकाले बुधबार ११० जनाको स्वाव संकलन गर्‍यो । गाउँपालिकाको स्वास्थ्य शाखाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सवारीचालक, बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्‍न व्यवसायीहरूको स्वाब लिएर प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ । हालसम्म यस गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ, ती सबै बाहिरबाट आएका हुन् ।

उनीहरू निको भइसके पनि गाउँपालिकाले प्रदेशको कोरोना टेस्ट गर्ने निर्देशिकाअनुसार स्वाब संकलन गरेको थियो । तर, त्यो निर्विवाद भने हुन सकेन । कोरोना महामारीको बेलामा वडा-वडामा पुगेर कार्यकर्ता भेला गर्ने नेतादेखि अनावश्यक व्यक्तिको स्वाब लिएको भनेर विरोध भयो । स्वाब लिएकै दिन बुधबार गाउँपालिकाका एक युवा विष्णु भुसाल (वेद) ले सामाजिक सञ्‍जाल फेसबुकमा लेखे, “जो बोल्छ, जसको बोली काट्न गाह्रो छ, नेता हुँ भन्छ, त्यसको मात्र पीसीआर गर्ने हो ? गाउँमा गर्नु पर्दैन ? र्‍यान्डमली गर्न पर्दैन गाउँमा ? छोटे राजा हो कति मनपरि गर्छौं, सरकारी सम्पत्तिमा ? अब पालो तिमीहरूको को हो अख्तियार धाउनी । कोरोनाबाट कसरी बचौंला यदि गाउँ मै संक्रमित छ भने ।”

उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई गाउँपालिकाले पनि फेसबुकमै जवाफ फर्काएको छ, ‘मुख सम्हालेर बोल भाइ’ भन्दै । बिहादी गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत उनले लेखेको स्टाटसमा प्रतिक्रिया जनाइएको छ, “बोल्दा अलि मुख समालेर बोल भाइ । सबै र्‍यान्डमली नै भएको छ । घर बस्‍ने अनि संसार खोक्ने ।”

गाउँपालिकाको यो जवाफको अहिले सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ । गाउँपालिकाको आधिकारिक फेसबुकबाट दिइएको जवाफ गैरजिम्मेवार रहेको भन्दै स्थानीय जनता, नेता तथा कार्यकर्ताहरूले पनि विरोध गरेका छन् । यता गाउँपालिकाका अध्यक्ष कमल भुसालले भने एक कर्मचारीले गाउँपालिकाको फेसबुक चलाइरहँदा आफ्नै व्यक्तिगत एकाउन्ट झैँ मानेर भुलवश प्रतिक्रिया दिएको जनाए ।

“मैले पनि बेहाल देखेँ । हिजो यहीँका कर्मचारीले गाउँपालिकाको फेसबुक हेर्नुभएको रहेछ, खै कसले के लेखेको रहेछ, आफ्नो एकाउन्ट झैँ मानेर प्रतिक्रिया दिनुभएछ । बाहिरकाले के-के भन्छन्, सबैलाई चित्त बुझ्‍ने कुरा पनि हुँदैन । सबैलाई राम्रो लाग्छ भन्‍ने पनि हुँदैन । मैले खासै त्यस्तो नराम्रो लेखेको त होइन भन्‍नुभयो । गाउँपालिकाको फेसबुक पेजबाट त्यस्तो लेख्‍न हुँदैन भनेको छु ।”

गाउँपालिकाले लेखेको उक्त जवाफ भने अहिले हटाइएको छ । तर, सामाजिक सञ्जालभरि भाइरल छ । “गाउँपालिकाको धारणा होइन त्यो । आफ्ना धारणा छुट्टै हुन्छ, सबैलाई जवाफ फर्काएर त के साध्य हुन्छ र । मैले फाल्न भनेको छु । सिस्टमको कुरा पनि त्यति जान्दिनँ । फालेका होलान् नि,” उनले भने ।

सम्बन्धित खवर