काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्नुभयो । मन्त्री ढकालले कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलार्इ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला बढाउनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी हुँदै डा. महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रा. डा. जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले नमुना परीक्षणको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा. डा. भगवान कोइरालाले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलार्इ सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अलिबढी ध्यान दिनुपर्ने बताउनुभयो । टेकु अस्पतालका अस्पताल डा. अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलार्इ महत्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अक्सिजन थेरामी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको बताउनुभयो ।
छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा. खेमबहादुर कार्की, सहसचिव डा. गुणराज लोहनी, प्रवक्ता प्रा. डा. जागेश्वर गौतम, डा. गुणनीधि शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।