भीमराज अधिकारी, पथरी
देशैभर क्वारेन्टिन व्यवस्थापन फितलो भएको गुनासो आइरहेका बेला मोरङको पथरी शनिश्चरेको क्वारेन्टिनमा पनि फोहोरको डङ्गुर रहेको पाइएको छ । जताततै फोहोर मात्रै रहेको भनेर क्वारेन्टिनमा बस्नेहरुले भिडियो फोटो सामाजिक सञ्जालमा हालेपछि क्वारेन्टिनको वास्तविकता बाहिरिएको हो ।
पथरी बहुमुखी क्यामपसमा बनाइएको क्वारेन्टिन अरु पालिकाको भन्दा निकै राम्रो व्यवस्थापनको भएको प्रचार भइरहँदा भित्रको यथार्थ भने अर्कै रहेको पाइएको छ । क्वारेन्टिनमा हप्तौँ सम्म पनि फोहोर व्यवस्थापन नभएको, स्यानिटाइजर, शौचालयमा आवश्यक पर्ने साबुन, बाल्टी, हर्पिक, ब्रस जस्ता कुनैपनि कुरा नभएको क्वारेन्टिनमा बसिरहेका संदिप श्रेष्ठले बताए । वरीपरी भएको फोहोर आफैले व्यवस्थापन गर्नका लागि पनि आवश्यक सामान केही नभएपछि त्यस्तै फोहोरमा बस्न बाध्य रहेको श्रेष्ठले बताए । क्वारेन्टिनमा रहेकाहरुको स्वस्थ्य जाँचका लागि, सोधपुछका लागि समेत कोही नआएको श्रेष्ठले गुनासो गरेका छन् । सरसफाइका लागि नगरले कर्मचारी नै नियुक्त गरेको छ तर आफु क्वारेन्टिनमा बसको हप्तादिन हुँदा समेत एकपटक पनि फोहोरको व्यवस्थापन, सरसफाइ केही पनि नभएको श्रेष्ठले बताए ।
यता नगरपालिका र स्वास्थ्य शाखा भने अन्य पालिका भन्दा धेरै गुणा राम्रो व्यवस्थापन रहेको बताइरहेको छ । क्वारेन्टिनमा फ्रि वाइफाइ, खाना, आवश्यक स्वास्थ्य सामाग्रीहरु सबैको व्यवस्थापन रहेको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए । क्वारेन्टिनमा बस्नेहरुले आफ्नो वरीपरीको सामान्य फोहोरको व्यवस्थापन आफैले गर्न र त्यसका लागि कुनैपनि सामाग्री चाहिए माग गर्न पनि आचार्य सुझाव दिए । तर क्वारेन्टिनमा सोधपुछका लागि समेत कोही नपुगेपछि आवश्यक सामान कस्लाई माग्ने अन्यौलता रहेको छ ।
आफ्नो नगरमा भइरहेको कामलाई सबैले सहयोग गर्नुको साटो आलोचना मात्रै गर्ने गरेको नगरप्रमुख दिलिप कुमार राईले बताए । व्यवस्थापन पक्षले जति गरेपनि आरोप मात्रै लगाउने गरेको राईले दुःखेसो पोखे । क्वारेन्टिनमा रहेकाहरुले पनि आफुले सकेको सहयोग गरे अझै व्यवस्थित हुने राईले बताए ।
अन्य पालिकाका तुलनामा पथरीको क्वारेन्टिन व्यवस्थित रहेको बताइन्छ तर समयमा फोहोर मैलाको उचित व्यवस्थापन नभएपछि झन संक्रमण फैलिन सक्ने देखिएको छ । शौचालयको ढोका फुटेको, युरिन पटको पाइप समेत फुटेर लथालिङ्ग भएको छ । बस्ने कोठादेखि शौचालय सम्म जताततै फोहोरका थुप्राहरु रहेका छन् । यसले क्वारेन्टिनमा बस्नेहरुलाई अन्य रोगको पनि संक्रमण हुने सम्भावना त छ नै अझै मानसिक तनाव समेत थप्ने गरेको क्वारेन्टिनमा बस्नेहरु बताउछन् ।