कोरोना संक्रमणको जोखिम बढेको भन्दै धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ। बुधबार बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।
लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय भएको उपमेयर मन्जु भण्डारीले बताइन।
‘लकडाउन एक साता थप गर्ने निर्णय भएको छ,’उनले भनिन्, ‘लकडाउन भएता पनि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने पनि निर्णय भएको छ।’
यसअघि बिहान ८ बजेसम्म मात्र खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो। ‘२ घण्टा थप गरेर १० बजेसम्म दिने निर्णय भएको छ,’उपमेयर भण्डारीले भनिन्।
धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ ।