पाँचथर : पाँचथरमा तीन जना प्रहरीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३ प्रहरी र बैदेशिक रोजगारीबाट फर्केका १ सर्व साधारण गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साउन २४ गते जिल्ला बिराटनगरबाट सरुवा भएर आएका १ जना जवानमा भदौ ४ गते संक्रमण पुष्टि भएपश्चात स्वास्थ कार्यालय पाँचथरले भदौ ५ गते ४६ जना प्रहरीको स्वाब संकलन गरेर पठाएकोमा उनीहरु मध्ये २६ वर्षका २ र २३ वर्षका १ गरी तीन प्रहरीसँगै फिदिम मावि क्वारेन्टिनमा वसेका ५५ वर्षीय १ व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमितहरुलाइ जिल्ला स्थित अगुवा स्रोत केन्द्रको भवनमा तयार गरिएको कोभिड उपचार केन्द्रमा राखेर उपचार शुरु गरिएको छ ।
जिल्लामा एकैसाथ ४ जनामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि पटक पटक गरी ८ जनामा संक्रमण देखिएकोमा ५ जना उपचार पछि निको भएर घर फर्केका छन भने तीनजना उपचारकै क्रममा छन । पछिल्लो पटक ४ जनामा संंक्रमण पुष्टि भएपछि अव पाँचथरमा सकृय संक्रमितको संख्या ७ पुगेको छ ।