भदौ ७, दमक ।
झापाको दमकमा कोरोना संक्रमणका कारण एक व्याक्तिको मृत्यु भएको छ । दमक नगरपालिका वडा नं. १ मा बसोवास गर्ने वर्ष ५६ का पुरुष व्याक्तिको शनिवार राति १२ वजे काठमान्डौ स्थित ह्याम्स हस्पिटलमा मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
पित्तथैलिको समस्याका कारण विरामी परेका पुरुष २ साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दमकमा अहिले सम्म कोरोना संक्रमण पुष्टि भएका कुनै पनि व्याक्तिको मृत्यु नभएको र यो नै पहिलो घटना भएको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताए ।
दमकमा पछिल्लो समयमा समुदायमा कोरोना सक्रमण फैलिदो अवस्थामा रहेको छ । मृतकका परिवारका सदस्यहरु दमकमा नै रहेको र अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुवेर भट्टराईले बताए ।
हाल दमकमा सक्रिया कोरोना संक्रमितको संख्या ६६ रहेको छ । जसमा पुरुष ५६ र महिलाको संख्या १० रहेको छ ।
मृतक काठामान्डौ जानु अघि दमक स्थित एड्भान्स हस्पीटलमा उपचारका लागि भर्ना भएको र त्याहा उपचार सम्भव नएपछि काठमान्डौ गएका भट्टराईले बताए ।
