राजेन्द्र महतो, लहान
सिरहाको लहान नगरपालिका क्षेत्रमा प्रहरीले लकडाउन थप कडा पारेको छ । शुक्रवार लहानको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सहित २२ प्रहरी, ८ थुनुवा र २ सर्वसाधारण गरी ३२ जना कोरोना संक्रमित थपिएपछि शनिबार बिहानदेखि इलाका प्रहरी कार्यालय लहानले लहान क्षेत्रमा लकडाउन कडा थप कडा बनाएको हो ।
ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानको संयुक्त टोलीले लहान १ स्थित तरकारी बजार, पूर्व–पश्चिम राजमार्ग सडकको सहिद चोक तथा बजारका भित्री भागमा अत्यावश्यक बाहेकका सवारी साधनको आवतजावत रोकिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ गरेपछि शनिबार लहानका सडक तथा बजार क्षेत्र सुनसान बनेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडक तथा भित्री सडकमा जरुरी काम बाहेकका सवारी साधन चलेका छैनन् । लहान क्षेत्रमा रहेका सबै बजार पसल पनि बन्द रहेका छन् । सिरहाको प्रमुख व्यापारिक केन्द्र मानिने लहान क्षेत्रमा नगरपालिकाले लकडाउन शुरु गरेको आज १६ दिन पुगेको छ ।