अनिश्चित कालका लागि पथरी शनिश्चरे शिल

अनिश्चित कालका लागि पथरी शनिश्चरे शिल

पथरी, मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले आज बिहान १० बजेबाट नगर क्षेत्र अनिश्चितकालका लागि बन्द गर्दै शिल गरिएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै बिहान १० बजेबाट अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण खाले पसल, ब्यवसाय, कार्यालय, वित्तिय संस्था, यातायात संचालन सहित हिडडुलमा पूर्ण प्रतिबन्ध गरिएको बताउनु भयो । नगरको सो आवहानलाई पूर्णरुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन नगरवासीमा उहाँले आग्रह गर्नुभयो । अर्काे सूचना नभएसम्मका लागि पूर्ण बन्द गरी नगर क्षेत्रबाट कोही अन्यत्र जान र अन्यत्रबाट नगर प्रवेश गर्न रोक्ने गरी शिल गरिएको हो ।

अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालन गरिसकेपछि १० बजेबाट नगरलाइ शिल गरियो । नगर उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, १ नम्वर बडाध्यक्ष बाबुराम एङ्देन सहित इलाका प्रहरी, नगर प्रहरीमार्फत अटेर गर्ने पसल वन्द गराउँदै सवैलाई घर बस्न अनुरोध गरिएको छ ।

सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय पुरुषमा हिजो कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना भाइरस फैलिएको हुनसक्ने बुझेर शिल गर्ने अवस्था आइपरेको हो ।

भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट हिजो पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो ।

फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ ।

नगरमा हालसम्म १ जना भारतीय सहित ८ जनामा कोरोना भाइरस देखिएको छ । जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर