पोखरा : पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पोखरामा जारी रहेको निषेधाज्ञाको समय थप हुने सङ्केत गरेका छन् । प्रमुख जिसीले जारी निषेधाज्ञा अवधिको विश्लेषण गर्दै आइतबार बस्ने बैठकले एक साता समयावधि थप गर्ने निर्णय सहित जिल्लालाई सिफारिस गर्न सक्ने बताएका हुन् ।
पोखरा लगायत कास्की जिल्लामा यही ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि ७ गते रातिबाट सकिँदै छ । पोखरामा कोरोना सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै जोखिमलाई कम गर्नको लागि निषेधाज्ञा थप गर्ने विषयमा भोलि कोरोना रोकथाम मूल समितिको बैठकमा छलफल हुने प्रमुख जिसीले बताए ।
“भोलि उपप्रमुख ज्यूको अध्यक्षतामा गठित कोरोना रोकथाम मूल समितिको बैठकमा निषेधाज्ञाका विषयमा छलफल हुन्छ” उनले भने–“सबै परिस्थितिलाई मध्यनजर गर्दै बैठकले निषेधाज्ञा एक साता लम्ब्याउनको लागि निर्णय गरी सिफारिस गर्न सक्छ।”
पोखरा महानगरका वडा नं ५, १९, २७, लगायतका केही वडामा कोभिड १९ को प्रकोप समुदाय स्तरमा नै फैलिएको जस्तो देखिएको बताउँदै प्रमुख जिसीले त्यस्ता स्थानहरूलाई रेड जोन घोषणा गरेर जान सकिने समेत बताए । “बाहिर आएको हल्ला जस्तो गरी फैलिएको त होइन तर कोरोनाको प्रभाव रोक्न हामीले आफ्नो तयारी तीव्र पारेका छौँ”, उनले भने “समुदायमा सजिलै सङ्क्रमण नफैलियोस् भन्नका लागि सङ्कटग्रस्त स्थितिलाई रोक्न थप पहलकदमी आवश्यक छ ।”
सहज भएको वेलामा नागरिकहरूले स्वास्थ्य प्रोटोकलमा ध्यान नदिँदा भयावह स्थिति आउन सक्ने भएकोले नै निषेधाज्ञा जारी गर्नुपरेको बताउँदै प्रमुख जिसीले बैङ्किङ , सार्वजनिक यातायात र भिडभाड हुने स्थानहरूमा विशेष ध्यान दिइने उनले बताए । नागरिकहरूको चाहना र सुझबुझका साथ सँगै नागरिकहरूको आवाज लाई नै मध्ये नजर गर्दै निषेधाज्ञा जारी गरेको बताउँदै यो निषेधाज्ञाले कोभिड–१९लाई रोकथाम गर्न निकै सहयोग पुगेको बताए ।
निषेधाज्ञालाई पोखरेली नागरिकहरूको समर्थन रहेको बताउँदै प्रमुख जिसीले भयावह स्थितिलाई रोक्न सधैँ बन्द गरेर पार लगाउने स्थिति समेत नभएको कडाइका साथ हेल्थ प्रोटोकल लागु गर्न सबै सचेत हुने बताए । उनले पोखरा महानगर भित्र यो कनट्याक्ट ट्रेसिङलाई तीव्र बनाउन आवश्यक रहे पनि परीक्षण कार्यलाई वैज्ञानिक रूपमा अगाडी बढाउन आवश्यक रहेको उनको भनाई थियो ।
यस अघि पोखरा महानगरमा निषेधाज्ञा जारी गर्नु भन्दा अघि प्रदेश सरकार सँग समन्वय गरिएको र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा निषेधाज्ञा जारी भएको प्रमुख जिसीले बताए । सहज भएको वेला सचेत गराउने ठाउँबाट नै स्वास्थ्यका धेरै प्रोटोकलहरू मिचिएको प्रति रोष प्रकट गर्दै उनले बैङ्किङ, अटोमोवाइल र तरकारी बजारका कारण सङ्क्रमण फैलन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरे । “अहिले सम्म यसको औषधी पनि छैन, न त कतै वनेको नै छ त्यसैले नागरिकले आफ्ना स्वास्थ्यका बारेमा सचेत रहन आग्रह गर्छु” उनले भने ।