पथरी, मोरङको पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना फैलिएकाले नगरवासीलाई पूर्ण सावधानी अपनाएर घरभित्रै वस्नका लागि नगरपालिका कार्यालयले अनुरोध गरेको छ । सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका पथरी बजारका १ जना २३ वर्षीय पुरुषमा आज कोरोना पोजेटिभ देखिएपछि नगर प्रमुख दिलीपकुमार राईले अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्नु भएको हो । उहाँले लकडाउनलाई पूर्ण रुपमा पालना गरी कोरोना भाइरसबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्नुभयो ।
भदौ २ गते पथरी शनिश्चरेको आफ्नो घरबाट काम गर्न सो फ्याक्ट्री गएका उनलाई फ्याक्ट्रीले सोही दिन पीसीआरको स्वाब संकलन गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएपछि ती युवा आफुसँग गएका २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरिने छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भनें नेगेटिभ आएको थियो ।
फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । फ्याक्ट्रि पुग्नुअघि नै संक्रमित भएको आशंका गरिकाले पथरीमा पनि समुदाय स्तरमा कोरोना भएको आशंका गरिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भनें अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ । नगरले भदौ ७ सम्म लकडाउन जारी गरेको छ । जसमा, अत्यावस्यक खाद्यान्न, अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, दुग्धजन्य पदार्थ, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएपनि नगरपालिका कार्यालय, वडा कार्यालयका प्रशासनिक सेवा सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन बन्द गराएको छ । बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनको अनुमति छ । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें यस पालिका बाहिरबाट नल्याउने निर्णय गरिएको छ । अत्यावश्यक खाद्यान्न, सब्जी, फलफुल, दुधजन्य पदार्थ विहान ६ देखि विहान ९ बजेसम्म मात्र विना भिडभाड सञ्चालनको अनुमति दिइएको छ ।
विहानको समयमा खुल्न पाउने पसलमा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ । सिटी सफारी, अटो रिक्सा सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न समेत अनुरोध छ ।
हालसम्म बन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय छ । लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।