काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धान रोपाई सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया, डिएपी लगायतका मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसद्वारा गठिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समिति संयोजक पद्म नारायण चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी समयमै मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकहरुप्रति उदासिन रहेको प्रष्ट भएको बताउनुभयो । सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको कांग्रेसको भनाइ छ ।
सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरबाहीप्रति गम्भीर अपात्ति प्रकट गरेको छ । गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली बिग्रिने, उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरी सृजना हुने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी रहेको समिति संयोजक चौधरीको भनाइ छ । त्यसैगरी हिउँदे बालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्वतयारी गर्न र गम्भीर हुनका कांग्रेसले सचेत गराएको छ ।
कांग्रेसले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको समेत छानविन गरी दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ ।