निषेधाज्ञाको दोस्रो दिन पोखरामा ६३ सवारीसाधन कारवाहीमा

निषेधाज्ञाको दोस्रो दिन पोखरामा ६३ सवारीसाधन कारवाहीमा

पोखरा :  कास्की जिल्लामा जारी भएको निषेधाज्ञाको दोस्रो दिन पनि पोखरा सुनसान बनेको छ ।  बिहीबार  पोखरासहित कास्की जिल्लामा प्रशासन निषेध गरेका सेवा तथा कार्यहरु खुलेनन् भने अत्यावश्यक सेवा बाहेकका सवारीसाधन पहिलो दिनको तुलनामा भन्दा पनि कम मात्र  चले ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले कास्की जिल्लामा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको बताउदै कोरोना संक्रमणको जोखिमबाट जोगिन यसैगरी नियमित रुपमा निषेधाज्ञा पालना गर्न आग्रह गरे । “हामीले हिजो भन्दा आज झन् बढी  निषेधाज्ञाको  पालना भएको  पाएका छौ, कोरोनाको संक्रमणबाट  जोगिन सबै कास्कीका जनतालाई यसरी नै जारी  निषेधाज्ञाको पालना गर्न आग्रह गर्दछौ”, प्रजिअ ढकालले भने ।

कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार सुरक्षा योजना लागु गरेर निषेधाज्ञा पालानाका लागि कडाइ गरिएकाले पोखरा लगायत जिल्लाभरको अवस्था शान्तिपूर्ण रहेको र निषेधाज्ञा धेरै हदसम्म पालना भएको कास्की प्रहरी प्रमुख एवं एसपी जीवन कुमार श्रेष्ठले बताए ।

निषेधाज्ञाको पहिलो दिन र दोस्रो दिन  कास्कीमा जनताहरुले उल्लेखनीय रुपमा साथ दिएको बताउदै एसपी श्रेष्ठले दोस्रो दिन पनि  बिनाकाम संचालन भएका केहि सवारीसाधनलाई सोहि स्थानमा होल्ड गराएर सचेत गराइएको जानकारी दिए । उनले  भने “ हामीले समग्रमा जिल्लाभर जनताले निषेधाज्ञाको राम्रो पालना गरेको पाएका छौ,  पहिलो दिनको तुलनामा आज  थोरै सवारीसाधन मात्र कारवाही परेका छन् , तीनलाई केहि समय होल्ड गराएर छाडेका छौ ।”

उनले कोरोनाको जोखिम कम गर्न प्रशासनले निषेधाज्ञा लागु गरेको बताउदै निषेधाज्ञा आफ्नै स्वास्थ्यको हितका लागि भएकाले सबैलाई अनिवार्य पालना गर्न आग्रह समेत गरे । अत्यावश्क कामबाहेक घरबाट ननिस्कन र अत्यावश्क पारेर निस्कन परेको खण्डमा १०० मा सम्पर्क गरेको खण्डमा प्रहरीले २४ घण्टा सहयोग गर्ने एसपी श्रेष्ठले बताए ।

पोखराका मुख्य मुख्य चोकहरुमा चेक जाँच कडा बनाइएको र कास्की छिर्ने मुख्य मुख्य नाकाहरुमा कडाइ गरिई निषेधाज्ञालाई प्रभावकारी बनाइएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले बताए । निषेधाज्ञा जारी भएको दोस्रो  दिन पोखरामा निषेधाज्ञा तोड्ने ६३ वटा  सवारीसाधन कारवाहीमा परेको डिएसपी हमालले बताए ।

डिएसपी हमालका अनुसार पोखरामा ४३ वटा मोटरसाइकल र २० वटा साना ठुला गाडी कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सबैलाई दिनभर नियन्त्रणमा लिएकै ठाउँमा होल्ड गराएर राखिएको र बेलुका छाडिएको डिएसपी हमालले बताए ।

निषेधाज्ञाको पहिलो दिन बुधबार पोखरामा १ सय १० सवारीसाधन कारवाहीमा परेका थिए ।

सम्बन्धित खवर