पोखरा : पोखरामा ड्युटीमा खटिएका प्रहरीलाई बोलेरो जिपले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ । घटनामा अर्का एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन् ।
मङ्गलवार राति करिब १ बजे मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरी सवार रहेको ग१ ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराको मालेपाटनमा ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत प्रहरी जवान बगालेको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । डिएसपी हमालका अनुसार उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा राति १ : ५० मा मृत्यु भएको हो ।
दुर्घटनामा क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बर बहादुर थारु गम्भीर घाइते भएको र उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।
प्रहरीले जिप चालक पोखरा -५ का २३ वर्षीय विशाल केसीलाई नियन्त्रणमा लिएको छ ।