काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै भदौ २ गते देशव्यापी प्रदर्शन गरिने उल्लेख छ । त्यसअघि नेविसंघले भदौ १ गते देशभरका क्याम्पस बन्द गर्ने भएको छ ।
यसअघि नेविसंघले शुक्रबार काठमाडौं उपत्यका भित्रका सरकारी क्याम्पसमा तालाबन्दी गरेको थियो । त्रिविले आफ्ना माग सुनुवाइ नगरेको विरोधमा उपकुलपति कार्यालय लगायतमा नेविसंघले तोडफोड गरेपछि आठ जना पक्राउ परेका थिए । नेविसंघले भने शान्तिपूर्ण आन्दोलनमा सहभागी नेविसंघ नेताहरूलाई झुट्टा मुद्दा लगाइएकाले आन्दोलन घोषणा गर्नु परेको अध्यक्ष राजीव ढुगांनाले बताउनुभएको छ । यस्तै वीरगञ्जमा निषेधाज्ञा उलंघनको आरोपमा नेविसंघका कार्यकर्ता पक्राउ परेका थिए । सिडिओलाई ज्ञापन पत्र दिन जाने भन्दै उनीहरूले प्रदर्शन गरेको प्रहरीको भनाइ छ ।
नेविसंघले त्रिभुवन विश्वविद्यालयका विकृति, विसंगति र राजनीतिक भागबण्डा अन्त्यको पनि माग गरेको छ ।