पोखरा न्यूज । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेश सरकारले जनताको जीवनलाई पैसामा मूल्याङ्कन गरेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गण्डकी प्रदेश सभाको आइतबारको बैठक अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले अवरोध गर्नुको कारणबारे सदनलाई जानकारी गराउन आग्रह गर्दा दलको तर्फबाट भनाइ राख्दै नेता नेपालीले त्यस्तो आरोप लगाएका हुन् ।
नेता नेपालीले भने “नेपाली काँग्रेसले पीसीआर परीक्षण बढाउन पर्यो भन्ने लगायतका माग राख्दा दिने र लिने जस्तो, एउटा व्यापारीले सामान बेचेजस्तो, एक भन्दा त्यो हुँदैन, त्यो भन्दा यो हुँदैन भन्ने, त्यो भन्दा नि संघिन प्रदेशका जनताको जीवनलाई पैसामा मूल्याङ्कन गरेको किसिमको जवाफ हामीले पायौ।”
प्रदेश सरकारले प्रदेशको राजधानीमा सञ्चालन गरेको आइसोलेसनमा उचित खाना र पानी नपाएको र किनेर खान्छु भन्दा पनि नपाएको भन्ने खबर सार्वजनिक रूपमा आएको भन्दै कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकार संवेदनशील नभएको आरोप समेत नेता नेपालीले लगाए ।
नेता नेपालीले सङ्कल्पमा उल्लेख गरिएका कोरोना नियन्त्रण सँग सम्बन्धित ४ वटा कुरा र समानताका आधारमा सांसद विकास कोषको वितरण गर्नुपर्ने माग पुरा नभएसम्म संसद् चल्न नदिने बताए ।
कोरोना नियन्त्रण सम्बन्धित एक घर एक पिसिआर गर्नुपर्ने, क्वारेनटिनलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरूप बनाउनुपर्ने, आइसोलेसनमा बेड तथा खानाको उचित प्रबन्ध हुनुपर्ने र कोरोना सङ्क्रमितको निधन भएमा शवको उचित व्यवस्थापनको चाँजोपाँजो मिलाउनुपर्ने ४ वटा बुँदा समेटेर काँग्रेसले संसद् सचिवालयमा असार २३ मा सङ्कल्प प्रस्ताव पेस गरेको थियो ।
सभामुख अधिकारीले विगतमा सहमति कै आधारमा सदन अगाडि बढेको र अहिले पनि असहमतिका बुँदालाई छलफलबाटै अगाडि बढाउने प्रतिबद्धता जनाएता पनि प्रतिपक्षका सांसदले उठेर अवरोध गरेपछि सभामुखले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका छन् ।