राजेन्द्र महतो, लहान
जनकपुरको नवजिवन हस्पिटमा समाचार संकलन गर्न पुगेका पत्रकार सन्तोष यादबलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ सिरहाले माग गरेको छ । महासंघका सिरहा सभापति दिनेश्वर प्रसाद गुप्ताले प्रेश विज्ञप्ती जारी गरेर घटनाको घोर भत्सना गर्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका हुन् ।
प्रहरीले पत्रकारलाई कुटपिट गरेर प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको महासंघले ठहर गरेको छ । ‘कोरोना रोकथामसंगै लकडाउनलाई प्रभावकारी बनाउने तथा सूचना सम्प्रेशन गर्ने पत्रकारको कार्य पनि उत्तिकै महत्वपूर्ण हो’, विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथी हमला गर्ने कार्य निन्दनीय छ ।’
विहिवार मृत्यू भएको एक महिलाको शव शुक्रवार राति जनकपुरको नव जीवन अस्पतालबाट प्रादेशिक अस्पताल लगिने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सोही बेला फोटो खिच्न खोज्दा पत्रकार यादव र पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरेका थिए ।
ति महिलाको मृत्यू अस्पताल र डाक्टरको लापरबाहीले भएको उनको आफ्न्तको आरोप छ । सोही कारण शव बुझ्न अस्वीकार गर्दै छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका थिए ।