तनहुँ : चैतको दोस्रो सातादेखि साउन पहिलो सातासम्म झण्डै चार महिना सडकमा सवारीसाधनको चाप भएन । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाले सवारी चलेनन् । चैतदेखि असार सम्म भएका दुर्घटनामा ९ जनाले ज्यान गुमाए । त्यो अवधिमा पनि १० स्थानमा दुर्घटना भएका थिए ।
ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार वर्षदिनमा जिल्लाका ६४ स्थानमा भएका सडक दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्क गत आर्थिक वर्ष २०७६÷०७७ को हो । सडक दुर्घटनामा ३० जना पुरुष, ११ जना महिला र ३ जना बालबालिकाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परेर ६७ जना गम्भिर र ८९ जना सामान्य घाइते भए ।
दुर्घटनामा पर्ने सवारीमा मोटरसाइकल अग्रस्थानमा छ । ३१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । १६ बस, १५ जीप तथा कार, ट्रक तथा टिप्पर १४ र ट्याक्टर १० वटा दुर्घटनामा परेका कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष २०७५÷०७६ मा ६१ जनाले ज्यान गुमाएका थिए । २०७४÷०७५ मा ६५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यसरी ३ वर्षको तथ्याङ्कलाई हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या घट्दो देखिन्छ ।
२०७६÷७७ मा दुर्घटनामा कमी आउनुको मुख्य कारण ४ महिनासम्म गरिएको लकडाउन हो ।
तनहुँका ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक रेशम रानाभाट भन्छन्, ‘लकडाउन भएको कारण पनि दुर्घटनामा केही कमी आयो । अरु बेलाको तुलनामा सडकमा कम सवारी चले । अर्कोतर्फ कोरोनाको संक्रमणबाट आम नागरिकलाई कसरी सुरक्षित गराउन सकिन्छ भनेर सबै प्रहरी सडकमा उत्रिएर सडकमा गुडेका सवारी साधनलाई चेकजाँच, परामर्श दिएर सजग र सतर्क बनाएका थियाँै ।’
पृथ्वीराजमार्गमा धेरै दुर्घटना हुन्छ । वर्षौ पुरानो साँघुरो सडकमा धेरै सवारी गुड्ने र जथाभावी ओभरट्याक गरेर हुइँक्याउँदा दुर्घटना हुने उनको भनाई छ । मानसिक तनाव लिएर र हतारमा यात्रा गर्दा दुर्घटनाको जोखिम हुने ट्राफिक प्रमुख रानाभाटको बताउँछन् ।
कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, विमलनगर, पावरहाउस पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन् । बढी दुर्घटना हुने स्थानहरुमा सचेतना बोर्ड, कनभेक्स मिरर राखिएको छ भने राडर गनमार्फत सवारीको गति मापन समेत गर्ने गरिन्छ ।
गण्डकी प्रदेशमा धेरै सडक दुर्घटना हुने जिल्लामा तनहुँ पर्दछ । दुर्घटना घटाउन सरोकारवाला निकाय र यातायात व्यवसायीसँग समन्वय गर्दै आईरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले बताए । मदिराजन्य पदार्थ सेवन गर्नेलाई रोक्ने र कारवाही गर्ने गरिएको उनले उल्लेख गरे । धेरै जसो दुर्घटना सवारी चालकले मदिरा सेवन गरेर चलाउँदा हुने गरेको छ । ‘सडकमा दुर्घटना हुन नदिनलाई हामी सजग छौ ।
सर्वसाधारणलाई पनि सचेत गराईरहेका छौँ’, पौडेलले भने ।
जिल्लामा सडक दुर्घटनामा मात्रै होइन, सवारी कारवाहीबाट उठ्ने राजश्व पनि घट्दै छ वर्षेनी । २०७५/०७६ मा एक करोड ६६ लाख ९४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएकोमा ०७६/०७७ मा त्यो भन्दा ३२ लाख २४ हजार पाँच सय रुपैयाँ कम एक करोड ३४ लाख ५१ हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रमुख रानाभाटले जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम विपरित चलाउने सवारी साधन तथा मालवाहक ढुवानीका साधनका चालक कारवाहीमा पर्ने गरेका छन् ।
नियम विपरित चलाइएका २१ हजार १ सय ५० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको तथ्याङ्क छ । कारवाहीमा पर्ने सवारीमा दुईपांग्रे मोटरसाइकल तथा स्कुटर नै धेरै छन् । छ हजार तीन सय ५२ मोटरसाइकल स्कुटरलाई कारबाही गर्दा ४६ लाख चार हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७४÷७५ मा सवारी साधनलाई कारवाही गर्दा रु एक करोड ६९ लाख २६ हजार ५ सय सङ्कलन भएको थियो । राजमार्गमा ओभरटेक गर्ने, लेन मिचेर चलाउने, जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने, ओभरलोड, तीव्र गति, मापदण्ड विपरीत कार्य गरेका सवारी र चालकलाई कारबाही स्वरुप सचेतना कक्षा र दण्ड जरिवाना गर्ने ट्राफिक प्रमुख रानाभाटले बताए ।