आर्थिक चलखेलको आरोपमा इटहरीका डिएसपी सहित ३ जनालाई लिखित स्पष्टिकरण माग

आर्थिक चलखेलको आरोपमा इटहरीका डिएसपी सहित ३ जनालाई लिखित स्पष्टिकरण माग

इटहरी, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारी सहित ३ जना प्रहरी अधिकारीहरुलाई लिखित स्पष्टिकरण सोधिएको छ । स्पष्टीकरण सोधिनेमा भण्डारी सहित मुद्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारी छन् ।

तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लिखित स्पष्टिकरण सोधिएको हो ।

डिएसपी भण्डारीले आर्थिक चलखेलका आधारमा मुद्धा हेर्ने तथा मुद्धालाई कम्जोर बनाउने गरेको भन्दै ३ जनालाई नै २४ घण्टा भित्रमा लिखित जवाफ पठाउन भन्दै बिहिबार नै पत्र काटिएको हो । गत वैशाखमा इटहरी २० मा रहेको एप्पल ट्रि मन्टेश्वरीमा कर्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई मन्टेश्वरी सञ्चालक सन्तोष कटवालले जबरजस्ती करणीको प्रयासको घटनामा मुद्दा नचलाउने भन्दै प्रहरीले आर्थिक चलखेल गरेको थियो । कटवाल विरुद्धको जाहेरी प्रहरीले १७ दिनपछि मात्र दर्ता गरेको थियो । यस घटनामा इटहरी प्रहरीले पाँच लाख नगद लिएको र पछि मुद्दा दर्ता गरेपछि उक्त रकम फिर्ता गरेको आरोप लागेको छ ।

कटवालसंग २३ लाखसम्मको डिल भएको स्रोतले बताएको छ । तत्कालका लागि ५ लाख लिएको र पछि बाँकी पैसा दिने शर्तमा कट्वाल पक्राउ परेका भोलिपल्टै छुटेका थिए । पछि महिला आधारशिला सुनसरीको दवावमा निवेदन दिएको ३ दिनपछि मात्र मुद्धा दर्ता भएको थियो । मुद्धा दर्ता गर्न सहोग गरेको भन्दै प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठ र डिएसपी भण्डारीको योजनामा तत्कालिन महिला सेलकी सोदा कार्कीलाई राजिनामा दिन बाध्य बनाएका थिए । उनीलाई मात्रै होईन थप केही प्रहरी कर्मचारीहरुलाई जिम्मेवारी नै हेरफेर गरेका थिए ।

महिला अधिकारकर्मीहरूको दबाबमा जेठ १३ गते जबरजस्ती करणी उद्योगमा सो मुद्दा दर्ता भएको थियो । यस्तै इटहरी ९ को रिभर साइड रिर्सोटमा छापा हानि ६ जना पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको घटनामा पनि इटहरी प्रहरीले आर्थिक चलखेल गरी ६ जनालाई छाडेको आरोप छ ।

बैङ्कका कर्मचारी र एक महिला यौन गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको घटनामा महिलालाई मात्र मानव बेचबिखनको मुद्दा चलाइएको थियो । इटहरी २० मा झगडा हुँदा ट्याक्टरले किचेर मृत्यु भएको घटनामा पनि प्रहरीले एक जनालाई प्रतिवादी नबनाउने भनेर रकम माग गरिएको थियो ।

इप्रका इटहरीमा कार्यरत केही प्रहरीले विभिन्न मुद्दामा आर्थिक रकम माग गरेको गुनासो र प्रमाणको आधारमा प्रहरीलाई स्पष्टीकरण सोधिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । जिरो टोलोरेन्समा काम गर्न प्रहरीलाई निर्देशित गरिरहेको अवस्थामा प्रहरीकै विरुद्ध गुनासो आएपछि आर्थिक रकम लिएको विषयमा छानविन गर्न समेत भनेको उनले बताए । सिधाकुराबाट

सम्बन्धित खवर