राजश्व हिनामिनाको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

राजश्व हिनामिनाको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

पोखरा : पोखरा महानगरपालिकाले राजश्व हिनामिना गरेको भन्दै सोको विरोधमा नेपाली काँग्रेस कास्कीले तत्काल छानबिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा बुधबार कार्यालय गएको टोलीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

ज्ञापनपत्रमा नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना हुनु सामान्य विषय नभएको भन्दै यस्तो गम्भीर विषयको तत्काल छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

कास्की काँग्रेसले पोखरा २१ का वडा सदस्य राम गुरुङले विकास निर्माणको बजेटमा कमिसन मागेको अडियो सार्वजनिक हुनु अत्यन्तै अशोभनीय र लज्जाजनक विषय भएको भन्दै सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाहीको माग गरेको छ ।

यस्ता विषयमा महानगरपालिका समयमा नै गम्भीर नभए अवस्था भयावह हुने चेतावनी समेत कास्की काँग्रेसले दिएको छ ।

त्यस्तै, कोरोना महामारी बेलामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र कोरोना परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भिरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

लकडाउनका बेला संकलित र वितरित राहत विवरण अझैसम्म सार्वजनिक नभएकोप्रति निन्दा गर्दै तत्काल राहत विवरण सार्वजनिक गर्न र महानगरपालिका भित्रका बेथितिबारे काँग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ विषयप्रति गम्भीर बन्न महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

सम्बन्धित खवर