पाेखरा : पोखरा महानगर लेखनाथस्थित डायमण्ड हाइअर सेकेण्डरी स्कुलले कोरोना कहर र लकडाउनबीच पनि यही साउन मसान्तभित्र शूल्क बुझाउन सूचना जारी गरेको छ ।
स्कुलको सूचनामा फी बुझाएरमात्रै अभिभावक र विद्यार्थीले राहत पाउने होइनन् । अनलाइन कक्षा सुरु गर्ने भन्दै स्कुलले विद्यार्थीलाई ल्यापटप र मोबाईलकोसमेत जोहो गर्न घुमाउरो निर्देशन दिएको छ । गत साउन २४ गते विद्यालयकातर्फबाट अभिभावकलाई पत्र काट्दै आगामी साउन ३० गतेभित्र असारदेखि भौतिकरुपमा विद्यालय सुचारु नहुञ्जेलसम्मको शूल्क तिर्न भनिएको छ ।
गत चैत्र ११ गतेबाट देशभर लकडाउन जारी भएपछि सरकारले शैक्षिक संस्था बन्द गरेको थियो । डायमण्डले बैशाख र जेठ महिनाको शूल्क भने राहतकारुपमा छूट दिने जनाएको छ ।
विद्यालयले अनलाईन माध्यमबाट अध्यापन गराएवापत नर्सरी र केजीका विद्यार्थीलाई ५० र ७५ प्रतिशत शिक्षण शूल्क भराउनेछ ।
यसबारे स्कुलका प्रिन्सिपल यमबहादुर रोकासँग सम्पर्क गर्दा उनले हाल आफु काठमाण्डौंमा रहेकाले विस्तृत जानकारी नभएको जनाए । त्यसपश्चात् स्कुलका प्रबन्धक हरि लामिछानेले प्याब्सनको समन्वय समितिमार्फत निर्णय भएअनुरुप उक्त सूचना जारी गरेको बताएका छन् ।
अनलाइन कक्षामार्फत विद्यार्थीको हाजिरी, अध्ययन र गृहकार्यलाई दैनिकरुमा सुचारु गरी पठनपाठन गराइने उनले उल्लेख गरे । विद्यार्थीलाइ शिक्षा दिने काम राेकिनुहुन्न भनेर विद्यालयले समेत निर्णय गर्न बाध्य भएकाे बताउँदै उनले याे कदम विद्यार्थी र अभिभावककाे हितमा भएकाे जनाए ।
यसै विषयमा पोखरा महानगरपालिकाअन्तरगत शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले हाल अनलाइन कक्षा सञ्चालनबारे निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।