बागलुङमा खानेपानीको वर्षेनी सास्ती

बागलुङमा खानेपानीको वर्षेनी सास्ती

बागलुङ : जनकवि केशरी धर्मराज थापाले ५० बर्ष अघि बागलुङ आउ“दा ‘बागलुङको बजार, पर्धेनीलाई दुःख हजार’ भन्ने गीत गाएको जानकारहरु बताउँछन् । सदरमुकाम बसेको स्थानमा खानेपानीको वर्षौदेखिकै समस्या हो । दशक अघि ल्याएको योजनाले धानेको खानेपानी आयोजनामा फेरी समस्या थपिएको छ । अहिले दैनिक खोलाखोल्सीमा खानेपानीको खोजी गर्दै हिड्नुपर्ने बाध्यता छ ।

सदरमुकाम देखि १४ किमी परको भुँदी खोला र रेशा खोलाबाट ल्याएको पानीको पाइपलाईनमा दर्जनौ पहिरो खसेपछि दुइ महिनादेखि पानीको सास्ती थपिएको हो । ‘पहिरोले सबै लाइन क्षतबिक्षत बनाएको छ, अहिले जोड्यो, बेलुकीको झरी र पहिरोले फेरी फाल्छ’ नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले भने, ‘डिजाइन फेल भएको पाइपलाइन बिच्छाइएकोले अहिले सास्ती भयो ।’ डिआइ पाइप मार्फत यतिलामो दुरीमा पानी ल्याएकोले पटक पटक पाइन फुट्ने समस्या भएको अध्ययनले देखाएको उनले बताए ।

प्राविधिक रुपमा अध्ययन गर्दा तराईमा जमिन मुनी गाड्नकालागि मात्र यो पाइप उपयुक्त हुने सुझाव आएपनि बाहिरै राख्दा यो समस्या आएको उपभोक्ताहरु बताउँछन् । डिजाइन त्रुटी भएकोले पहिरोले पाइप फाल्दा सिमेण्टका स्पर समेत फुटाएको हो । बर्षातमा खानेपानी सुचारु गर्नै कठिन भएपछि उपभोक्तालाई ठग्न संस्थाले कहिले खेतको, कहिले नालीको पानी पठाएको छ । यसरी पठाएको पानी पिउनकालागि योग्य छैन । अयोग्य पानी पठाएकोमा पटकपटक हुने बिरोधबाट भने संस्था तर्कदै आएको छ ।

खानेपानीमा नालीमा भेटिने किरा भेटिएपछि यसले फेरी चर्चा बढाएको छ । बागलुङ बजारका सरोज क्षेत्रीले नालीमा हुने किरा धारोमा भेटिएको भन्दै संजालमा राखेपछि अशुद्ध खानेपानी बितरण भैरहेको बारे फेरी चर्चा उठेको हो । ‘शुद्ध खानेपानी खुवाउन अदालतले दिएको आदेश पनि पालना भएको छैन’ अधिवक्ता राम शर्माले भने, ‘संस्थाले उपभोक्ताको हितमा गम्भिर लापरबाही गरेको छ ।’ सयौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न पाईदैन ।

बागलुङ नगरपालिका वडा नं. ३ को बोक्सेमा जमिनै भासिएको र ठूला ढुंगा आएर पाइप भाँचेपछि तीनवटा घर समेत जोखिममा परेका छन् । ‘रातभर निदाउन सकेका छैनौ’ स्थानीय अनिस गौतमले भने, ‘जतिबेला पनि घर भत्कने खतरा छ ।’ उक्त स्थानमा जाली भरेर पर्खाल लगाएपछि मात्रै पाइपलाईन तार्न सकिने अबस्था भएकोले पानी बितरण गर्न नसकेको शर्माले बताए । दिउसो एकैछिन पानी चलाएपछि बन्द गर्न बाध्य भएको समेत उनले बताए । पानी पूर्ण रुपमा संचालन गर्नकालागि बर्षात रोकिनुपर्ने प्राविधिकले सुझाव दिएका छन् । अस्थायी रुपमा तार्नकालागि दैनिक ४ जना कर्मचारी मुहान र पहिरोमा खटाउनु परेको श्रेष्ठले गुनासो गरे ।

उक्त पानीले नपुग्ने भएपछि चार बर्षअघि लिफ्ट प्रणालीको अर्को आयोजना थालिएको थियो । उक्त आयोजना समेत गलत डिजाइन भएपछि तीनपटक भत्केको छ । पटक पटक म्याद थप्ने कामले नगरक्षेत्रमा पानीको समस्या भएको हो । निर्माणाधिन रिर्जभ ट्यांकीलगायतका संरचना ३ पटक भत्केको हो । उक्त आयोजनामा अहिलेसम्म ४० प्रतिशत मात्रै सकिएको छ ।

४५ करोड लागतको लिफ्ट आयोजना समेत कहिले आउ“छ भन्ने यकिन भएको छैन । कैलमपोखरी भन्ने स्थानमा पाँचवटा स्पर बनाएर ५ लाख लीटरको रिर्जभ ट्यांकीबाट रात्माटा सम्मलिफ्ट गरेपछि बजारबासीलाई खुवाउने योजना थियो । ‘कमजोर भूगोल र गलत स्टिमेट भएको रहेछ, अहिले बल्ल बुझिंदैछ’ उनले भने, ‘अब आयोजनाको डिजाइन फेरेर मात्र कामगर्न सकियला, नत्रखर्च मात्रै भयो ।’ यस अघि आरसिसी पर्खालको डिजाइन भएकोमा ठेकेदारले मेसिनरी बनाउँदा पहिरो खसेको उनले बताए ।

पटक पटक पर्खाल भत्केपछि नजिकैका दर्जनबढी घर जोखिममा परेका छन् । देउरालीचोकका घरछेउको जमिन समेत बग्न सक्ने भन्दै स्थानीय त्रसिद भएका छन् । ‘पटक पटक भत्केपछि घर पनि बग्न सक्छन्’ संस्थाका उपाध्यक्ष निरज शाक्यले भने, ‘प्राविधिकबाट गलत डिजाइन हुँदा उपभोक्ताले समयमा खानेपानी नपाएका हुन् ।’ संस्थाको आयोजना भएपनि बिभागबाटै हेर्ने गरी आयोजना संचालन भएको हो ।

हाल बागलुङमा भुँदीखोलाबाट प्रतिसेकेण्ड २० लीटर पानी ल्याइएको छ । रेशबाट १७ र रिठेखोलाबाट साँढे ३ लीटर पानी ल्याइएको छ । उक्त पानीले पनि नपुगेपछि काठेखोलाको पानी लिफ्ट गरेर बजारमा लैजाने तयारी भएको हो ।

सम्बन्धित खवर