पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस संक्रमण बढे पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २१ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म संक्रमण नियन्त्रण हुने बताए । प्रदेश सरकारले आफ्नै साधन स्रोतबाट कोरोना व्यवस्थापन गरेको बताउँदै मुख्यमन्त्रीले भने, “लकडाउन फेरि लगाउनुपर्दछ भन्ने आवाजसमेत उठेको छ तर अहिले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने समय होइन । खोलिसकेको कलकारखाना, निर्माण व्यवसायका काम बन्द गर्ने भनेर सोचेका छैनौँ, हतारो गर्र्नु पनि हुँदैन । हामी सचेत होऔँ त संक्रमण धेरै कम हुन्छ ।”
नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङले कोरोना भाइरससँग लडिरहेको अवस्थामा अहिले पार्र्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे । जनताको बीचमा स्थायित्वका लागि गरेको बाचा पूरा गर्न र हालसम्म कुनै पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको विगतबाट पाठ सिक्दै इतिहास निर्माणका लागिसमेत ५ वर्ष दायाँबायाँ गर्न नहुने उनको भनाइ छ ।
मुख्यमन्त्री गुरुङले चालू वर्षमा पत्रकारको सशक्तीकरणका लागि ६५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए । गण्डकी प्रदेश पर्यटनको मात्र राजधानी नभई यहाँको पत्रकारितासमेत राम्रोसँग चलेको छ भन्ने सन्देश दिनुपर्ने खाँचो उनले औँल्याए ।