राजेन्द्र महतो, लहान
सिरहाको धनगढी माई नगरपालिका १४ बाट सालको अबैध काठ सहित २ वटा ट्याक्टर पक्राउ परेका छन् । डिभिजन वन कार्यालयले भारी परिमाणमा दुई ट्रयाक्टर अवैध सालको काठ सहित छ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय लहानबाट खटिएको टोलीले धनगढी माई नगरपालिका १४ स्थित चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजादैँ गरेको काठ नियन्त्रणमा लिएको हो । ना. ४ त. ८७२८ र स. १ त. ५२९७ नम्बरको ट्याक्टरमा लैजाँदै गरेको ६९ थान सालको चिरान काठ सहित पक्राउ गरिएको हो । धनगढीमाई नगरपालिका–१४ का समीर मगर र सोही ठाउँका कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ का जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।
टोलीले उनीहरुको साथमा रहेको एक थान मोटरसाइकल पनि पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए । पक्राउ परेका ६ जना माथि आवश्यक अनुसन्धान भइरहेको दासले जानकारी दिए ।