पथरी, पुर्वका चर्चित खोला ठेकदार भीमबहादुर पौडेलका स्काभेटरले मध्य साउनमा पनि दादागिरी शैलीमा खोला उत्खनन् गरेको पाइएको छ । पौडेलले स्थानीय वासिन्दालाई प्रयोग गरेर दिन दहाडै मोरङको लेटाङ स्थीत तेलि खोलामा स्काभेटर प्रयोग गरि गिट्टी बालुवा उत्खनन् गरेका हुन् ।
केही दिन अघिदेखि पौडेल सहितका ठेकेदारहरुका हाइवा र ट्रिपर दोहोरीलत्त कुदेपछि पथरी जाँते सडकमा एम्बुलेन्स सम्म फस्ने अवस्थामा पुग्यो । सडकको यस्तो अवस्था भएपछि पटक पटक स्थानीयले पौडेललाई सडकमा गिटी हाल्न भनेका थिए । स्थानीयको आवाजलाई बेवास्ता गरेका पौडेलको क्रसरका गाडी बाटैमा रोकिदिएपछि पौडेलले बाटामा गिटी हाल्ने सर्तमा छाडिएको थियो ।
सोही विषयलाई बाहना बनाएर पौडेलले तेली खोलमा स्काभेटर लगाए र २ सय टिप भन्दा बढि नदिजन्य सामग्रीको दोहन गरेको स्थानीयले बताएका छन् । खोलाबाट पौडेलको श्री ओम क्रसर उद्योगको स्टक २० मिटर आसपासमा छ । स्टक सामानबाट बाटो पुर्न स्थानीयले पौडेललाई अनुरोध गरेका थिए तर पौडेलले मध्य साउन कानुनको धज्जी उडाउदै खोला दोहन गरे ।
अझ रोचक कुरा चाँहि के हो भने, प्रदेश सरकारको पुर्वाधार विकास मन्त्रालयले ठेक्का लगाएको पथरी–जाँते–ज्यामिरे सडक कालोपत्रे गर्ने जिम्मा पनि पौडेलले नै पाएका छन् । आफैले निर्माण गर्नुपर्ने सडकमा खोलाको दोहन गरेर सडक पुर्दा पनि स्थानीय प्रशासन भने बेखबर छ ।
यस विषयमा पौडेल भने स्थानीयको अनुरोधमा ३० टिप गिटी खोलाबाट निकालेर लगाएको बताउछन् । पौडेलले भने स्टकबाटै हालिदिन्छु भनेको थिएँ ।साथीहरू मान्नु भएन, उहाँहरुले जवरजस्ती गरेपछि ३० ट्रिफर गिट्टी हालिदिएको हुँ ।’ तर,पौडेलकै कर्मचारी निर्मल चौहान भने ६० हाइवा गिट्टी खोलाबाट निकालेको बताउछन् । चौहानले भने ‘६० गाडी निकालेको हो । बाँकी मलाई पनि थाहा छैन् ।’ यसरी हेर्दा यहाँ खोलाको चरम दोहन भएको स्पष्ट बुझिन्छ ।
यस विषयमा मन चोकका स्थानीय भने २ सय हाइवा गिटी निकालेको दावी गर्छन् । स्थानीय एक युवाले नाम उल्लेख नगर्ने सर्तमा भने ‘बाटामा एम्बुलेन्स पनि गुड्न छोड्यो । जेसिवि फस्न थाल्यो, बाटो हिलाम्मे भए पछि पौडेलका गाडी सञ्चालनमा रोक लगायौं ।’ तर, पौडेलले हामी स्थानीयलाई सिरानी लगाएर चरम खोला उत्खनन् गर्नुभयो । हामीलाई बाटो राम्रो चाहिएको हो तर, उहाँले कानुन मिचेर मध्य साउनमा खोलामा स्कावेटर चलाउनु भयो ।’
दादागिरी शैलीमा खोलामा स्कावेटर चलाउँदा समेत स्थानीय सरकार भने बेखर छ । बाटो साच्चिकै विग्रीएको भएकाले २,४ गाडी निकालेर पुरेको भनेको सुनेको तर विस्तृतमा आफुलाई पनि थाहा नभएको वडा नं. ९ का अध्यक्ष कृष्ण लइटेलले बताए । यस विषयमा जानकारहरुका अनुसार १ टिप हाइवामा १८ घनमिटर गिटी जान्छ । १ टिपर गिटीको हालको चलनचल्तीको मुल्य १६ हजार छ । यसरी हेर्दा २ सय टिपर गिटीबाट पौडेलले ३२ लाख मुल्य बराबरको खोला दोहन गरेर गिटी निकालेको प्रष्ट हुन्छ । त्यो पनि आफैले निर्माणको जिम्मा पाएको सडकमा ।
यति मात्रै हैन पौडेलले २ दिन सम्म लगातार खोलामा स्काभेटर चलाएको स्थानीयहरु बताउछन् । २ दिनमा पौडेलले २ करोड बढीको गिटी उत्खन्न गरेको स्थानीय व्यावसायीहरु बताउछन् । यसरी मध्य वर्षको समयमा कारोडौँको खोला दोहन हुँदा पनि स्थानीय प्रशासन मौन रहनुको रहस्य कतै सबैको मिलेमतो त हैन् ? प्रश्न खडा भएको छ ।
इनेपालको सहयोगमा