लहान नपामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा व्यापाक भ्रष्टाचार

लहान नपामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा व्यापाक भ्रष्टाचार

राजेन्द्र महतो, लहान

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लहान नगरपालिकामा व्यापाक भ्रष्टाचार भएको भन्दै खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न स्थानीयले माग गरेका छन् । हाल नगरपालिकाले गरेको खर्च विवरण संक्षिप्त रुपमा मात्रै सार्वजनिक गरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

यो पारदर्शी होईन, कतै न कतै यसमा भ्रष्टाचारको गन्ध लुकेको स्थानीयको आरोप छ । नगरपालिकाले हरहिसाब पुर्ण रुपमा सार्वजनिक नगरेर अनियमितता लुकाउन खोजेको स्थानीयको भनाई छ । राहतका लागि खरिद गरिएको चामल, दाल, नुन, तेल, साबुनलगायतको सामग्री खरिद गरेको मुल्य सुचि समेत सार्वजनिक गर्न स्थानीयले माग गरेका हुन् ।

महामारीको बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, ईन्धन खर्च, क्वारेन्टाइन ब्यवस्थापनमा खरिद गरिएको सामग्रीहरुको खरिद मुल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मुल्यसहित सार्वजनिक गर्नुपर्ने समाजसेवी महेश चौधरीले माग गरेका छन्। एकमुष्ट रुपमा खर्च भएको विवरण सार्वजनिक गरिएपनि कुन शिर्षकमा कति खर्च भयो ? स्पस्ट रुपमा सार्वजनिक गर्नुपर्ने स्थानीय कपिलदेव यादवले बताए । उनले भने, ‘अनियमितता लुकाउन नगरपालिकाले खरिद दर र खर्च विवरण सार्वजनिक गर्न चाहेका छैन् ।’

महामारीको बेला स्थानीय तहहरुमा अनियमितता भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला समन्वय समिती सिरहा लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले सिरहाका १७ स्थानीय तहलाई खर्च विवरण सार्वजनिक गर्न भनेको थियो ।

सोही अनुरुप लहानले एकमुस्ट खर्च विवरण पेश गरेका थिए । कोभिड १९ रोकथाम नियन्त्रणमा ३६ लाख ५७ हजार २ सय ४५ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा ४ लाख ८५ हजार ५७ रुपैया, राहत वितरण १ करोड ५३ लाख ५ हजार ७ सय ७६ रुपैया र कर्मचारी भत्तामा ३ लाख ५६ हजार गरी कुल १ करोड ९८ लाख ४ हजार ७७८ रुपैया खर्च भएको विवरण लहान नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहामा पेश गरेको छ ।

स्थानीय तहहरुले गरेको खर्च विवरण संक्षिप्तमा सार्वजनिकीकरण गरेपछि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले व्यापक भ्रष्टाचार गरेको आवाज उठिरहेको छ ।

 

सम्बन्धित खवर