पोखरा : पोखरा महानगरपालिका वडा नं. १६ र १९ का वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नागरिकहरुलाई आग्रह गरेको छ । दुवै वडाका वडाध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
वडा नं. १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य र वडा नं. १९ का वडाध्यक्ष शोभामोहन पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेकका अन्य व्यवसाय समेत बन्द गर्न आग्रह गरेका छन् ।
पोखरा १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि दुवै वडाध्यक्षले यस्तो सचेत गराएका हुन् । यदि वडाकार्यालयको अनुरोधलाई नागरिकले बेवास्ता गरे र थप संक्रमण फैलिन गएमा प्रशासनले शिल गर्न सक्नेतर्फ वडाध्यक्षद्धयले सचेत गराएका छन् ।
यस्तै कोरोना संक्रमण पुष्टि भइ आइसोलेसनमा रहेका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुले वडा कार्यालयमा नाम टिपाउन समेत आग्रह गरिएको छ ।
लामाचौर बाटुलेचौर सुनसान
पोखरा १९ भक्तिपथका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि पोखराको वडा नं. १९ र १६ सुनसान बनेको छ । त्यस क्षेत्रतर्फ कोही पनि गएका छैनन् भने त्यहाँका नागरिक पनि घरबाहिर निस्कन सकेका छैनन् ।
अन्य समयमा मर्निङ वाकमा निस्कने नागरिकहरु पनि आज घरमै बसेको स्थानीयले बताएका छन् । ‘वडाकार्यालयले ननिस्कन भनेको छ । सबै नागरिक पनि त्राही त्राही छन्’, नेपाली कांग्रेसकी कोषाध्यक्ष समेत रहेकी स्थानीय लक्ष्मी पाण्डेले भनिन्, ‘यस्तो अवस्थामा आत्तिन भन्दा सचेत र धैर्यवान हुन आवश्यक छ ।’
यस वडाका केही सचेत नागरिकले पनि सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्दै नआत्तिन, घरबाहिर ननिस्कन र धैर्य गर्न आग्रह गरिरहेका छन् । सोनी पिक्चर लामाचौरले समाजिक सञ्जालमार्फत अबको एक दुई हप्ता अत्यन्तै जरुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
सहकारीको सेवा बन्द
पोखराको लामाचौरस्थित जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले अर्को सूचना जारी नभएसम्मका लागि सहकारीको सेवा बन्द गरिएको जनाएको छ ।
सहकारीका अध्यक्ष सञ्जयकुमार अधिकारीले सूचना जारी गर्दै सहकारीको सेवा बन्द गरिएको जनाएका छन् । उनले अत्यावश्यक काम परेमा सेवा केन्द्र, संयोजक र व्यवस्थापकसंग सम्पर्क गर्न शेयरधनीलाई आग्रह गरेका छन् ।