नेकपा गुट, कुन नेताको गुट कति बलियो ?

नेकपा गुट, कुन नेताको गुट कति बलियो ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद पछिल्लो समय फुटको अवस्थासम्म पुगेको छ ।  तर, नेकपा न फुट्न सकेको छ न जुट्न सकेको छ । विवादले गुट उपगुट निर्माण गर्ने देखि एक अर्कालाई तानातान र पेल्ने अवस्थासम्म बनेको छ । प्रधानमन्त्री ओलीले औपचारिक फोरममा छलफलनै गर्न नचाहेपछी नेकपा विवाद सामाजिक सञ्जालमा समेत छताछुल्ल हुन थालेको छ ।

अहिलेको नेकपाको विवाद विचारप्रधान भन्दापनी को शक्तिमा रहने र कसलाई हटाउने भन्नेमा केन्द्रित छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा मागेका छन् । अहिलेकै अवस्थामा औली कुनै हालतमा राजीनामा दिने पक्षमा छैनन्। सहमतिको बिन्दु तयार गर्ने प्रयास भएको भनिएपनी आजका मितिसम्म कुरा मिल्न सकेको छैन जसका कारण गुट उपगुटको द्वन्द्व चर्किरहेको छ ।

संसदको कुल २७५ सिटमा नेकपासँग १७४ सिट छ । जसमध्ये ओलीको पक्षमा ८० को हाराहारीमा सांसद छन् । तर, ओली पक्षले १०० संख्या दाबी गरेको छ । नेकपा स्थायी कमिटीमा ४५ मध्ये पूर्व एमालेबाट २६ र पूर्व माओादीबाट १९ जना मनोनित भएका थिए ।अग्नि सापकोटा सभामुख बनेपछि स्थायी कमिटीमा ४४ जना छन् । तर, पछिल्लो राजनीतिक घटनाक्रमले को नेता कुन गुटमा छन् र पुग्छन् अहिलेनै एकिन गर्न सक्ने अवस्था देखिंदैन ।

प्रधानमन्त्री ओलीको गुट अहिले सबैभन्दा बलियो देखिन्छ । उनीसँग आफूसहित तीनजना सचिवालय सदस्य छन् । सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल ओलीको गुटमा छन् । स्थायी कमिटीमा १३ जना ओली पक्षमा थिए । पछिल्लो समय पूर्व माओवादीबाट लेखराज भट्ट थपिएका छन् । पुर्व सभामुख सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत प्रभावशाली नेता रहेको यो गुटले आफूसँग संसदीय दलमा आधाभन्दा बढी सांसद रहेको दाबी गर्दै आएको छ ।

नेकपा एकताका बखत प्रचण्डले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षबाट बनाएका थिए । पूर्व माओवादीबाट सचिवालयमा तीनजना र स्थायी कमिटीमा १९ जना प्रचण्ड पक्षका थिए । तर, रामबहादुर थापा बादल, लेखराज भट्ट ओली पक्षमा गएका छन् । अब प्रचण्डसँग १६ जना स्थायी कमिटी देखिएका छन् । प्रचण्डसँग पुर्व माओवादीका वर्षमान पुन, टोपबहादुर रायमाझी लगायत नेताहरुको साथ रहेको छ ।

नेकपा वरिष्ठ नेता माधव नेपाल सचिवालयमा आफू पक्षबाट एक्लै छन् । स्थायी कमिटीमा उनीसँग १२ जना रहेकोमा पछिल्लो समय योगेश भट्टराई र घनश्याम भुषाल टाढिएका छन् । उनीहरु बामदेव गौतमसँग नजिकिदै ओलीतर्फ पनि सकारात्मक बनेका छन् । नेपालसँग अब ८ जना मात्र देखिएका छन् । नेपालको गुटमा भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायत नेताहरु देखिन्छन् ।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालको गुट खासै अस्तित्वमा देखिंदैन । उनी सचिवालयमा एक्ला हुन् भने स्थायी कमिटीमा उनी पक्षका एकजना मात्र छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको राजीनामाको पक्षमा छन् ।

नेकपा उपाध्यक्ष बामदेव गौतमको छुट्टै गुट छ । उनी सचिवालयमा आफ्नो गुटका एक्ला हुन् । गौतमलाई पछिल्लो समय घनश्याम भुषाल र योगेश भट्टराईको साथ देखिएको छ । उनी आफू सांसद नभएपछि केही सांसद सदस्य निकट छन् । गौतम अहिले कुनैपनि गुटमा नरहेको दाबी गर्दै  ओलीसँग नजिकिएका छन् ।

गुटगत रुपमा ओली र ओली इतर दुइ समुह देखिएतापनी समस्याको जड बिश्वासको संकटनै रहेको प्रष्ट देखिन्छ । एकिकरण प्रक्रिया नेतृत्व तहमै अड्किएको वर्तमान अवस्थामा नेकपा भित्रको मुख्य समस्यानै पुर्व माओवादीले समान हैसियत खोज्नु र पुर्व एमालेले माओवादी आफ्नो पार्टीमा विलय भएको महशुस गर्नुनै हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

सम्बन्धित खवर