सिरहाको लहान, गोलबजार र मिर्चैया लकडाउन

सिरहाको लहान, गोलबजार र मिर्चैया लकडाउन

राजेन्द्र महतो, लहान

सिरहाको लहान नगरपालिकाले आज शुक्रबार राति १२ बजेदेखि आवश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लहान नगरपालिकाले आज शुक्रबार साउन २३ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय गरेको हो । यो अवधीमा अति आवश्यक पसल बिहान ८ देखि ११ बजेसम्म पसल खोल्ने र अन्य पसलहरु बन्द गर्ने निर्णय भएको लहान नगरपालिकाका प्रशासकीय अधिकृत खेमनन्द भुसालले बताएका छन्।

नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अति आवश्यक बाहेकका सवारी साधन चल्न नदिइने, सबै किसिमका हाट बजार बन्द गर्ने, चिया पसलदेखि कोरोना रोकथामसँग सम्बन्धित काम भएका बाहेकका सबै होटल र रेष्टुरेन्टसमेत बन्द गर्ने निर्णय भएको अधिकृत भुसालले जानकारी दिए ।

पछिल्लो पटक लाहान नगरपालिका भित्र २६ जना कोरोना संक्रमित पाइएपछि यसको रोकथामका लागि लकडाउन लगाउने निर्णय भएको भुसालले बताए ।

त्यस्तै गोलबजार नपाले पनि आज साउन २३ राती मध्याह्न १२ बजे देखि २०७७ साउन ३२ सम्मको लागि नपा क्षेत्र भित्रका अति आवश्यक सेवासंग सम्बन्धित बाहेक सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले जानकारी दिए । यसअघि सिरहाको मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेको छ।

सम्बन्धित खवर