पोखरा : आंशिक प्राध्यापकहरुले पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको दुई वटा झ्यालका सीसा फुटेको छ भने केही कुर्सीमा क्षति पुगेको छ ।
क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने, क्याम्पसको रिक्त प्राध्यापक दरवन्दीमा नियुक्ति आंशिक प्राध्यापकबाटै हुनुपर्ने माग गर्दै आइरहेका छन् ।
‘आंशिक प्राध्यापकको माग सुनुवाई गर्ने भन्दै समयसीमा तोकेर सम्झौता गरेका क्याम्पस प्रमुखले म्याद गुज्रिंदासमेत केही पहल गर्नुभएन’, आंशिक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमले गण्डकी भ्याइससंग भने, ‘उल्टो भेट्न खोज्दासमेत समय नदिएपछि केही साथीहरु सामान्य आक्रोशित हुनुभएको हो ।’
अध्यक्ष गौतमका अनुसार आंशिक प्राध्यापकहरुको जायज माग साउन २२ गतेसम्ममा पूरा गर्ने क्याम्पस प्रमुखले लिखित सम्झौता गरेका थिए । उनले भने, ‘२२ गतेको म्याद त्यत्तिकै गुज्रियो । के के काम र तयारी भएका रहेछन् भनेर भेट्नका लागि समय माग्दा दिनुभएन । त्यसपछि केही साथीहरु आक्रोशित हुनुभयो ।’ उनले अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
नवनियुक्त क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले आंशिक प्राध्यापकका जायज माग पूरा गर्नका लागि केन्द्रमा पहल भइरहेको बताए । उनले पहल धेरै नै भएको तर निर्णय आउन ढिलो भएको बताए ।
‘सम्झौता भएरै त म गम्भीर ढंगले अघि बढिरहेको छु । केही ढिलाइ भइरहेको छ । छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छु’, क्याम्पस प्रमुख कोइरालाले भने । उनले सोमबारसम्मका लागि समय मागेका छन् ।
उनले भने, ‘उहाँहरुले आज समय माग्नुभएको थियो । मेरो कार्यव्यस्तताले समय दिन सकिन । तोडफोड नै भएको छ । यस्तो गर्दैमा समस्या समाधान हुँदैन ।’
पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् । उनीहरु १४ वर्षदेखि आंशिक प्राध्यापकको रुपमा कार्यरत छन् ।