श्रीलङ्का निर्वाचन : राजपक्ष दलद्वारा विजयी भएको घोषणा

श्रीलङ्का निर्वाचन : राजपक्ष दलद्वारा विजयी भएको घोषणा

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले देशमा भएको संसदीय निर्वाचनमा आफू विजयी भएको घोषणा गरेका छन्।

गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइ महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ।

उनीहरूको दल ‘श्रीलङ्का पीपल्स फ्रन्ट’ र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ।

उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ। उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा जितेका छन्।

महिन्द राजपक्षले भारतका प्रधानमन्त्रीले आफूलाई बधाई दिन फोन गरेको भन्दै ट्वीट गरेका थिए।

गोटावय

श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको प्रभाव रहेको छ। तर राजपक्ष बन्धुहरू विवादास्पद पनि छन्।

महिन्द राजपक्ष सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए।

पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ।

अघिल्लो निर्वाचनमा जितेको १०६ स्थानमध्ये उनको दलले १०५ वटा स्थान गुमाएको छ।

अहिलेको परिणामपछि पूर्वराष्ट्रपति रणसिङ्घ प्रेमदासका छोराले गठन गरेको नयाँ दल दोस्रो ठूलो शक्तिका रूपमा उदाएको छ।

प्रेमदासको सन् १९९३ मा हत्या भएको थियो।

कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलङ्कामा निर्वाचन भएको थियो।

यसअघि दुई चोटि मतदानको मिति सारिएको थियो।

श्रीलङ्कामा अहिलेसम्म ३,००० भन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

विगत

दुवै दाजुभाइलाई विगतमा महिन्द राजपक्षको राष्ट्रपतीय कार्यकालमा तमिल विद्रोहीविरुद्ध हासिल भएको सैनिक विजयको श्रेय दिने गरिन्छ।

अहिलेका राष्ट्रपति तथा उनका दाइ गोटाबय राजपक्ष त्यति बेला रक्षामन्त्री थिए।

गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि गोटाबय राजपक्षविरुद्ध लागेका भ्रष्टाचारका सबै अभियोगहरू फिर्ता भएका थिए। राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका कारण ती अभियोग फिर्ता गरिएको बताइएको छ।

पहिले गोटाबय राजपक्षलाई राज्यकोषको दुरुपयोग गरेर सङ्ग्रहालय तथा आफ्ना मातापिताको स्मारक बनाएको अभियोग थियो।

तमिल विद्रोह दमनपूर्वक अन्त्य गर्न उनीहरूले बर्बर सैनिक कारबाही गरेको आरोप लाग्ने गरेको छ।

बिबिसी नेपालीबाट साभार गरिएकाे हाे

सम्बन्धित खवर