पोखरा : पोखरा १८ सराङकोटका पहिरो पीडितलाई युनाइटेड क्लवले सहयोग गरेको छ । पहिरोबाट घर र परिवार गुमाएकालाई १ लाख नगद सहयोग गरेको हो । असारको अन्तिम साता अविरल वर्षाका कारण पहिरो झर्दा गोठादीका ५ जनाको मृत्यु भएको थियो । बुधबार एक कार्यक्रमका बीच क्लवका अध्यक्ष लालकाजी गुरुङले राहत संकलन समितिका संयोजक संजीव थापामगर लाई राहत रकम हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष रणबहादुर थापाले पहिरो पीडितलाई सुरक्षित ठाउँमा घर बनाउन लागेको बताए ।
अभियानमा सघाउन उनले सामाजिक संघ संस्थालाई सहयोग गर्न आग्रह गरे । क्लवका निवर्तमान अध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सुकबहादुर गुरुङले सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको बताए । क्लवका अध्यक्ष लालकाजी गुरुङले क्लवले तिहारको वेलामा देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद व्यवस्थापन कोष बनाएको बताए ।
सोही कोषबाट सहयोग गरेको उनको भनाई छ । क्लवले कोरोनाको रोकथामका लागी गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा १ लाख, पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा १ लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई ५०/५० हजार रुपैया सहयोग गरेको छ । क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र वातावरणमा सहयोग गर्दै आएको छ ।