घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डसँग पराजित

घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डसँग पराजित

 

घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित भएको छ ।

साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो । एजेस बाउलमा इंग्ल्यान्डले दितेको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एन्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले अलआउट हुँदै ३ सय २८ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । टम बानटनले ५८ रन जोड्दा डेभिड विलिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । आयरल्याण्डका क्रेग योङले ३ विकेट लिए । यस्तै जोस लिटल र कुर्टिसले २–२ विकेट लिए । अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ । इंग्ल्यान्डले सिरिज भने २–१ ले जित्न सफल भएको छ ।

पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २–० ले आफ्नो बनाएको थियो ।

सम्बन्धित खवर