विराटनगर, कोशी अस्पतालमा विराटनगरमा मृत्यु भएका ७७ वर्षीय पुरुषको शव मोरङको कानेपोखरी जंगलमा अन्त्येष्टि गरिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोशी अस्पताल भर्ना भएका विराटनगर–५ का वलबहादुर थापाको उपचारको क्रममा सोमबार दिउसो मृत्यु भएको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिएका छन् ।
कोरोना भएको थाहा पाएपछि अस्पतालले परिवारलाई शव दिइएको थिएन र उनको शव कोशी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । मृतकको परिवारको पनि स्वाब परीक्षणमा राखिएकाले रिपोर्ट आउन बाँकी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायको समन्वयमा मंगलबार मोरङको थलाहास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्त्येष्टिको जिम्मा लिएको मेसु दासले जानकारी दिएका छन् ।