पर्यटकलाई नेपालमा बस्ने वातावरण बनाइदेऊ : पोखरा चेम्बर

पर्यटकलाई नेपालमा बस्ने वातावरण बनाइदेऊ : पोखरा चेम्बर

पोखरा : पोखरा चेम्बर अफ कमर्स कास्कीले नोबल कोरोना भाइरसको विश्वव्यापी सक्रमण तथा मानवीय संवेदनालाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई केही समय अवधिका लागि नेपालमा बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

अध्यागमन विभागले २०७७ भदौ १ गते देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकहरुलाई १५ दिन नेपाल बाहिरिनु पर्ने नियम बनाएको परिप्रेक्ष्यमा चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय समक्ष त्यस्तो अनुरोध गरेको हो ।

पोखरा चेम्बर अफ कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२०मा प्रकाशित सूचना अनुसार अन्तर्राष्ट्रिय उडान सुरुआत भएको दुई साताभित्रको समय अवधिमा सबै विदेशी पर्यटकलाई फर्काउने सरकारको निर्णयलाई पुनर्विचार गर्न माग गरे । ‘लकडाउनको कारण नेपालमा १ हजार ५ सयभन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक विविध कारणले बसिरहेका छन,’ चेम्बरले भनेको छ, ‘सो समय अवधिमा सबै राष्ट्रमा सिधा उडान एकैपटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।’

अध्यक्ष सुनारले केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको कारण नेपालमै सुरक्षित महसुस गरी बसी रहेकाले भिसा अवधि थपेर बस्ने वातावरण मिलाउन माग गरे । नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसको कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत पुग्ने दाबी गर्दै अध्यक्ष सुनारले त्यस्तो कार्यले आगामी दिनमा नेपालको पर्यटन उद्योगको अन्तर्राष्ट्रिय जगतमा समेत सकारात्मक सन्देश जाने उल्लेख गरेका छन् ।

कोरोना भाइरसको कारण नेपाल सरकारले २०७७ चैत ११ गते देखि मुलुक भर लगाएको लकडाउन (बन्दाबन्दी¬¬)को कारण सबै अन्तर्राष्ट्रिय उडानहरु र सीमा नाका बन्द छ । लकडाउनका कारण नेपालमा अलपत्र विदेशी पर्यटकहरुलाई सम्बन्धित मुलुकहरुले उद्दार गरेका छन । आफ्नो मुलुकमा कोरोना भाइरसको बढ्दो सक्रमणको कारण केही विदेशी पर्यटक नेपाल नै सुरक्षित मानेर बसिरहेका छन् ।

सम्बन्धित खवर