८ जना छोरा छोरीको छ तर तुलशाको ७२ वर्षको उमेरमा पनि वडाध्यक्षले नागरिकता सिफरिस गरेनन्

८ जना छोरा छोरीको छ तर तुलशाको ७२ वर्षको उमेरमा पनि वडाध्यक्षले नागरिकता सिफरिस गरेनन्

भीमराज अधिकारी, पथरी

७२ वर्षकी तुलशा विश्वकर्माका ८ सन्तानको र श्रीमानको नागरिक्ता छ । २००५ सालकी तुलशाले ४ पटक वडामा नागरिक्ताका लागि धाउदा समेत अध्यक्षले सिफारिस नदिएपछि शुक्रबार पनि निरास हुदै घर फर्किएकी छन् ।

मोरङको पथरी शनिश्चरे वडा नं. ३ की तुलशाको जन्म साविक हाङपाङ गाविस ताप्लेजुङमा भएको हो । हाल तुलशाको परिवार २०३६ साल देखि मोरङको पथरी शनिश्चरे ३ मा स्थाइ बसोबास गर्दै आएको छ । २०२७ सालमा गोपाल विश्वकर्मासंग विवाह गरेर ८ सन्तानकी आमा बनेकी तुलशाको सबै सन्तानको र श्रीमानको नागरिकता छ तर तुलशाको छैन् । नागरिकता नभएपछि तुलशाले सामाजिक सुरक्षा भक्ता देखि लिएर राज्यको सबै सुविधाबाट बञ्चित हुनुपरेको छ ।

२०३६ सालदेखि नै पथरी शनिश्चरे ३ मा बसोबास गर्दै आएपनि साविक राजघाट ८ मोरङबाट बसाँई सरेर पथरीमा आएको प्रमाणपत्र २०५८ सालमा लिएका छन् । यसअघिका ३ वटा निर्वाचनमा समेत मतदान गरेरकी तुलशाको पछिल्लो पटकको मतदाता लिस्टमा नाम नभएको बताइन् । २०५२ सालमा गोपाल र तुलशा विश्वकर्माको नाममा निर्वाचन आयोगले मतदाता पारिवारिक लगत संकलन गरेको पत्र अझै तुलशाको साथमै छ ।

वडामा नागरिक्ता सिफारिसका लागि आउँदा अध्यक्ष डम्बर बहादुर चेम्जोङले जन्मदर्ता अथवा जन्म प्रमाणितको कागज ल्याउन भनेपछि विश्वकर्मा परिवार अन्यौलमा परेको छ । तुलशाको जन्म हुदा जन्मदर्ता लागू नै भएको थिएन । हाल तुलशाका कोही पनि आफन्त ताप्लेजुङमा नभएपछि कसरी ताप्लेजुङ पुगेर जन्म प्रमाणितको पत्र ल्याउने सकस भएको छ । अध्यक्ष चेम्जोङले नै २०७४ षौष ७ गते प्रमाणित गरेको पारिवारिक विवरण प्रमाण–पत्रमा तुलशाको जन्म २००५ साल असार १५ गते देखिन्छ तर चेम्जोङले अहिले जन्म प्रमाणितको कागज नल्याए सिफारिस नदिने भनेर शुक्रबार चौथो पटक तुलशालाई निरास बनाएर घर फर्काएका छन् ।

नागरिकता पाउनका लागि तुलशाले माइतपटीको भाउजुको नागरिकता, निर्वाचन आयोगको मतदाता संकलनको पत्र, श्रीमानको नागरिकता, बसाइसराई, पारिवारिक विवरण लगाएतका आवश्यक सबै कागज पेश गरेकी थिइन् ।

यस विषयमा नगरमा उपप्रमुखसंग समन्वय गरेपछि अध्यक्षले वडामा आउनु भनेकाले सर्जमिनका लागि टोलका ५ जना छिमेकी सहित आएका थिए । तुलशाको परिवारलाई आफुले राम्ररी चिनेको अध्यक्ष चेम्जोङ आफै बताउछन् तर सिफरिस भने दिदैनन् । आफु कानुन भन्दा दायाँबाँया नलाग्ने र जन्म प्रमाणितको पत्र नल्याए सम्म सिफारिस नदिने अडान चोम्जोङले लिएका छन् ।

तिनै स्थानीयले तिरेको करबाट सुविधा भोगेर बसेका जनप्रतिनिधिले आफ्नै वडाका जनतालाई सरकारी सुविधाबाट बञ्चित गराएर सास्ती दिइरहेका छन् । राज्यको सुविधा अझै सहज तरिकाले दिनुपर्नेमा उल्टै सुविधाबाट बञ्चित गराएर वडामा जनप्रतिनिधी सिंह झै गर्जिरहेको स्थानीयले आरोप लगाएका छन् ।

सम्बन्धित खवर