कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

वीरगञ्ज, जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

उनी भारतीय नागरिक हुन् ।कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मुटुको बाइपास सर्जरी भइसकेको थियो,’ डा. सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ, राति साढे ११ बजे उनको मृत्यु भयो ।’ बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौने ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जनाए ।

गलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. सिंहले बताए । यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा. सिंहले बताए । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । इकान्तिपुरबाट

सम्बन्धित खवर