नेविसङ्घले अझै पाएन पूर्णता

नेविसङ्घले अझै पाएन पूर्णता

 

काठमाडौँ ; नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

विसं २०७३ साउनमा सम्पन्न सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि विसं २०७५ माघमा राजीनामा दिनुभएको थियो । उहाँको राजिनामासँगै सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिव १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो ।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे हुनुहुन्छ । सङ्घका पूर्व केन्द्रीय सदस्य लीलावल्लभ दाहाल ‘काका’ ले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाउनुहुन्छ ।

सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उहाँको भनाइ छ । “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमान्दार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ । सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी सङ्गठन यो अवस्थामा आउनु दुःखद् भएको जानकारी दिनुहुन्छ । बाँकी कार्यसमिति तत्काल मनोनीत गरेर १२ औँ महाधिवेशनमा जानुपर्ने उहाँको भनाई छ ।

सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउनुहुन्छ । सङ्घ पूर्व कार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढङ्गले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ । महामन्त्री भट्टराई पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको हो भन्नुहुन्छ । समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उहाँको भनाइ छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको सङ्घको कार्यसमितिले पूर्णता नपाउँदा ठूलो समस्या उत्पन्न भएको छ । विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको सङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गर्नुभयो । पहिलो अध्यक्ष विपिन कोइराला हुनुुहुन्थ्यो ।स्थापनाकालदेखि हालसम्म आइपुग्दा छ अध्यक्ष निर्वाचित, सात अध्यक्ष तदर्थ र पाँच अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । सङ्घको ५० वर्षको इतिहासमा विसं २०५९ मा तत्कालीन अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सक्नुभएको थिएन । विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचित अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सक्नुभएन । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको तदर्थ समितिलाई चाँडो पूर्णता दिनेबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो । रासस

सम्बन्धित खवर