दुई तिहाँइको सरकार जनमुखी भएन ः डा. डिला संग्रौला

दुई तिहाँइको सरकार जनमुखी भएन ः डा. डिला संग्रौला

उर्लाबारी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघिय सांसद डा. डिला संग्रौलाले दुई तिहाईको नेकपाको सरकार जनमुखी नभएकाले नेपाली नागरिकले दुख पाएको आरोप लगाउनुभएको छ ।

शुक्रबार उर्लाबारीमा नेपाली काग्रेसको नीति, अनुसंन्धान तथा प्रशिक्षण शाखाको आयोजना तथा क्षेत्र नं. १ (क) को आतिथ्यतामा भएको प्रशिक्षक प्रशिक्षण कार्याशालाको उद्घाटन गर्दै डा. संग्रौलाले यस्तो आरोप लगाउनुभएको हो । केपी ओलीले नेतृत्व गरेको स्पष्ट बहुमत र शक्तिशाली सरकारले जनमुखी कार्य नगरेको आरोप लगाउँदै मुलुकमा हत्या, हिंसा, भ्रष्टचार बढेको संग्रौलाको आरोप थियो । सरकारले उनीहरुलाई संरक्षण गरी अधिनायकवाद तर्फ उन्मुख भएको बताउँदै आगामी निर्वाचनमा कार्यकर्तालाई सकृय पारी कांग्रेसको नेतृत्वको सरकार बनाउन आवश्य भएको डा. संग्रौलाले बताउनुभयो ।

डा. संग्रौलाले संचार मन्त्रीको सेक्युरिटी प्रेस खरिद काण्ड, स्वास्थ्य मन्त्रीको कोभिड–१९ को समयको औषधीजन्य सामाग्री खरिद काण्ड, वाईडवडी जहाज काण्ड, बालुवाटार जग्गा खरिद प्रकरण तथा निर्मला पन्तको हत्या काण्डका कारण सरकार असक्षम भएको आरोप समेत लगाउनुभयो । नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय उपसभापति तथा शाखाका संयोजक शेरबहादुर भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यशालामा क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले मुलुकका २००७, २०१५, २०४६, २०४७, २०६२/०६३, २०६५, २०७२ र २०७४ सम्ममा संस्थागत परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको उल्लेख गर्नुभयो । हरेक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको उदाहरण भएकाले सुख दुःखको र सवै वर्गको पार्टी कांग्रेस भएको बताउनुभयो ।

उक्त कार्यशालामा शाखाका केन्द्रिय सदस्य केशव निरौला, जिल्ला उपसभापति शिवनारायण सिह, जिल्ला सदस्य रामप्रसाद पोख्रेल, शाखाका जिल्ला सचिव ईन्द्रमणि थापा, सदस्य प्रमिला गच्छदार, क्षेत्र (क) संयोजक प्रकाशचन्द्र थापा सहितका वक्ताहरुले पार्टीको संरचना, कार्ययोजना, आगामी विकल्प लगायतका बिषयमा प्रशिक्षण गरीएको सहभागी महासमिति सदस्य ललित अधिकारीले बताउनुभयो ।

सोही कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने ५९ जनालाई डा. संग्रौला सहितले स्वागत गर्दै क्षमता अनुसार जिम्मेवारी दिएर संगठित गर्न सुझाव दिनुभयो । प्रवेश गर्ने नगरका अधिकांश युवाहरु भएको तरुण दलका नगर संयोजक रोहीत कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर