पथरी शनिश्चरेको ८ मा भएका योजनाको प्रेस व्रिफिङ

पथरी शनिश्चरेको ८ मा भएका योजनाको प्रेस व्रिफिङ

पथरी, वडामा भएका योजनाका बारेमा सबैलाई जानकारी दिनुपर्छ भन्नेकुरा सबैलाई थाहा नै छैन् या त गर्नै जान्दैनन् तर मोरङको पथरी शनिश्चरे ८ ले भने वर्षभरीका योजनाका बारेमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने गरेको छ । वडाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक वर्षका योजना र चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

गत वर्ष नगरको सिलिङ बजेट १ करोड थियो । सो बजेटबाट ९७ प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष बाबुराम दाहालले जानकारी दिनुभयो । सतप्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ लागि परेको भएता पनि कोरोनाको कहर लामो समयसम्मको बन्दाबन्दीका कारण ३ प्रतिशत योजना तथा कार्यक्रम सञ्चालन नै गर्न नपाएको दाहालले बताउनुभयो ।

गत वर्ष भौतिक पूर्वाधार तर्फ ६० लाख ५० हजार, सामाजिक विकास तर्फ १८ लाख ५० हजार, कृषि तर्फ ५ लाख, लक्षित कार्यक्रम तर्फ ६ लाख, सिंचाइ र पैनी तर्फ ३ लाख, मठमन्दिर तर्फ २ लाख र कार्यालय व्यवस्थापन तर्फ ५लाख रुपैँयाको योजना तथा कार्यक्रम रहेको थियो । सो मध्ये जेष्ठ नागरिक, आदिवासी जनजाती र दलित तर्फको कार्यक्रम सञ्चालन नभएको दाहालले बताउनुभयो ।

यस बाहेक नगरका योजनाहरु पनि रहेका छन् । नगरका ७ वटा योजना मध्ये ३ वटा योजनाको काम भइरहेको छ भने १ वटा योजनाको फस्यौट गर्न बाँकी रहेको छ । दोहोलु शुक्रबारे सडक कालोपत्रे १ करोड २५ लाख, ८ नं. वडा कार्यालय भवन निर्माण ४७ लाख १७ हजार ३३९ र वडा नं. ८ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको काम भइरहेको दाहालले जानकारी दिनुभयो । दुर्गा आधारभूत विद्यालयको कम्पाउण्ड वाल र गेट १ लाख ५० हजारको काम भने फस्यौट गर्न बाँकी रहेको अध्यक्ष दाहालले बताउनुभयो । विपन्न परिवार घर मर्मत १ लाख बराबरको कार्यक्रम पनि संचालन नभएपछि चालु आर्थिक वर्षमा सोही शीर्षकमा पूनः बजेट आउने भएकाले चालु वर्षमा सोही शीर्षकमा खर्च गरिने दाहालले बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्ष २०७७/०७८ का लागि नगरले ७५ लाख सिलिङ बजेट तोकेको छ । सो बजेट तथा कार्यक्रम मध्ये कार्यालय संचालन तर्फ १० लाख, शिक्षा तर्फ १० लाख, कृषि कार्यक्रम ११ लाख ५० हजार, स्वास्थ्य कार्यक्रम ४ लाख, खानेपानी तर्फ ३ लाख, पशु लक्षित ३ लाख, विपन्न परिवार शौचालय निर्माण २ लाख, लक्षित वर्ग कार्यक्रम ४ लाख, युवा लक्षित १ लाख, तालिम तथा आयमुलक कार्यक्रम १ लाख, भौतिक पूर्वाधार १७ लाख ५० हजार र मर्मत संम्भार तर्फ ८ लाख रुपैँया विनियोजन गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । वडाले चालु वर्षका लागि नगर र प्रदेशसंग ६/६ वटा योजना माग गरेको छ ।

वडाले गतवर्ष नागरिक्ता सिफारिस १२४ वटा, नागरिक्ता प्रतिलिपी सिफारिस ८४ वटा, नाता प्रमाणित ५८ वटा घरबाटो सिफारिस ५५ वटा गरेको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो । गतवर्ष जम्मा ७८३ वटा पत्र चलानी गरेको छ । यस्तै घटनादर्ता तर्फ जन्मदर्ता ३७० जना, मृत्युदर्ता ८३ जना, सम्बन्ध विच्छेद १० वटा, बसाँई सरि आएको १४ परिवार, बसाँई सरि जाने ११ परिवार गरि जम्मा घटनादर्ता ६१० वटा रहेको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै वडाले गत आर्थिक वर्षमा ३ लाख १२ हजार ६२५ रुपैँया राजश्व संकलन गरेको छ । वडामा एकीकृत सम्पती कर, जग्गाको तिरो लगायतका दस्तुर उठाउने व्यवस्था नभएका कारण अन्य विभिन्न सिफारिसहरु मात्रैबाट राजश्व संकलन हुनेगरेको भट्टराईले जानकारी दिनुभयो । वडामा वडा सचिव र कार्यालय सहयोगी मात्रै रहेकाले कार्यसम्पादनमा समेत समस्या हुनेगरेको छ ।

सम्बन्धित खवर