मास्क बाड्दै बजार निस्किए सिन्धुलीका प्रजिअ र एसपी

मास्क बाड्दै बजार निस्किए सिन्धुलीका प्रजिअ र एसपी

काठमाडौं । लकडाउन खुलेसँगै सिन्धुली बजारमा भिडभाड बढेको छ । लकडाउनका बेला बैंक र मेडिकल, खाद्यान्न र केही तरकारी पसल खुलेको भएपनि अन्य ब्यापार ब्यबसाय बन्द थिए । सरकारले लकडाउन खुलेको बताए लगत्तै यहाँका ब्यापार ब्यबसाय पनि खुल्यो ।

अहिले सरकारी कार्यालयसँगै नगरपालिका, वडा र अन्य सरकारी कार्यालयमा आउने सेवाग्राही बढिरहेका छन । हिजोआज सदरमुकाममा किनमेल गर्नेको भीडभाड नै छ । तर बजारमा हिंड्ने अधिकांश मानिसहरु मास्क नलगाई हिडेको देखिन्छ ।

कोरोनाको संक्रमण फैलिन नदिन मास्क अनिवार्य लगाउन बिश्व स्वास्थ सङ्गठनले पनि भनेको छ । लकडाउनताका अति आवश्यक काम वाहेक घर बाहिर ननिक्लेर सतर्क रहेका सिन्धुलीका बासिन्दाहरु क्रमशः हिजोआज बजारमा मनपरी हिड्न थालेका छन ।

व्यापारीसँगै स्थानीयले मास्क लगाउन भुलेका छन । यस्तैमा आज बिहान सिन्धुलीका सडकमा मास्क लगाउन र दुई मिटरको भौतिक दूरी कायम गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेको टीम नै बजार क्षेत्रमा हिडे ।

सिन्धुलीका प्रजिअ पान्डेले बाटोमा हिडेका मानिस हुन वा पसलमा बसेका सबैलाई मास्क लगाउन अनुरोध गरिहेका थिए । प्रजिअ पान्डेसंगै सिन्धुलीका सहायक सिडियो रिद्दी सिटोलौ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रन्जु सिग्देल, डिएसपी श्याम बहादुर खत्री, सशस्त्र प्रहरीका डिएसपी गोपीकृष्ण भट्टराई, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी लगायत सुरक्षा निकाय र नागरिक समाजका सदस्यहरु कोरोना संक्रमण फैलन नदिन सबैलाई मास्क लगाउन र दूरी कायम गर्दै कुराकानी र हिडडुल गर्न आग्रह गरिरहेका थिए ।

सिन्धुली जिल्लामा आजसम्म मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई सचेतना जगाउन गरिएको भए पनि भोलिबाट मास्क नलगाई हिड्नेलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘मास्क लगाउन जनचेतना जगाउन प्रजिअ साप सहितको टोली बजारमा हिडेको हो, भोलिबाट मास्क नलगाइने हिड्नेलाई जरिवाना हुनेछ’ एक सुरक्षा अधिकृतले भने ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली स्रोतले भन्यो, ‘मास्क नलगाई हिड्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।’ कोरोनाको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सिन्धुलीमा मास्क लगाउने कार्यलाई प्रभावकारी बनाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी रिद्दी सिटौलाले जानकारी दिए ।

उनले गृहको निर्णय कार्यान्वयन गराउन जिल्ला मातहतका सम्पूर्ण सुरक्षा निकायलार्इ परिचालन गरिएको पनि बताए । मास्क लगाएर भौतिक दूरी कायम गर्दा कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने स्वास्थ बिज्ञहरु बताउँछन ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । गृह र जिल्ला प्रशासनको निर्देशनसंगै अहिले यहाँ प्रहरीले पनि सक्रियता देखाउन थालेको छ ।

सामुदायिक प्रहरीले मास्क लगाउन माइकिङ्ग नै गर्दै हिड्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रन्जु सिग्देलले आज बजारमा मास्क लगाउन सम्झाउँदै अनुरोध गरिएको बताए ।

बिहान बजारमा हिडेको टोलीले स्थानीयलाई झन्डै एक हजार मास्क पनि वितरण दिएको थियो । भोलिबाट मास्क नलगाई बजारमा अटेर गरेर हिड्ने गरेको पाइएमा एक सय रुपैया जरिवाना हुने बताएको व्यवसायीले जानकारी दिए ।

बिहीबार मात्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिज्ञप्ति प्रकाशन गरेर न्युनतम २ मिटरको दूरी कायम गर्न, भीडभाड नगर्न, साबुन पानी तथा स्यानिटाईजरले पटक–पटक हात धुन अनुरोध गरेको थियो । सिन्धुली जिल्लामा भित्रिने र जिल्लाबाट बाहिर जाने सवारी साधनमा यात्रा गर्नेले पनि अनिवार्य मास्क लगाउन जिल्ला प्रशासनले भनेको छ ।

जिल्ला भित्रिने र बाहिरिने सवारीलाई अनिवार्य पास लिन र पासमा उल्लेख भएका ब्यक्ति बाहेक अन्यलाई यात्रा नगराउन समेत अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोध अवज्ञा गर्ने सबैलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने स्रोतले बताएको छ।

सम्बन्धित खवर