राजेन्द्र महतो, लहान
सिरहामा शसस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट (बिओपी) माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शसस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी कर्यालय तथा जिल्ला प्रहरी कार्यालय सिराहको संयुक्त टोलीले सिरहा नगरपालिका–३ मखनहाका २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव ,सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २५ वर्षीय जवकेश कुमार यादवलाई पक्राउ गरेको हो ।
ऊनीहरुले गत असार १६ गते एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म प्रहरी जवान यादवलाई लखेटेर सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।