कास्की : सरकारको निर्णयअनुसार भोलि (सोमबार) बाट सवारी सधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन हुने बताए ।
सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदूरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्रबैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए ।
अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।
यता, पोखरामा पनि सार्वजनिक सवारी सञ्चालनको तयारी भइरहेको छ । व्यवसायीले भोलि (सोमबार) देखिने चलाउने भनिए पनि पोखरामा केही दिन लाग्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।
‘सवारी साधन चलाउन व्यवसायी तयार भएका छन् । हामी तयारी गर्दैछौं । अब सूचना निकाल्ने काम हुन्छ, त्यसपश्चात सवारी साधन चल्न शुरु हुन्छ’, अध्यक्ष केसीले भने ।
सबै सुरक्षाका उपाय अपनाएर आफूहरुले गाडी चलाउन लागेको उनले स्पष्ट पारे । अब छोटा मात्रै होइन लामा दूरीका गाडी पनि सञ्चालनको तयारी भइरहेको अध्यक्ष केसीले जानकारी दिए ।