सबैको रोजाइमा पर्छ पञ्चायत मावि

सबैको रोजाइमा पर्छ पञ्चायत मावि

मोरङको पथरी शनिश्चरे १ मा रहेको पञ्चायत मावि सबैको रोजाइमा पर्नेगरेको छ । संस्थागत विद्यालयहरुको मार खेपिरहेका अभिभावकलाई पनि पञ्चायतले सहजै गुणस्तरीय शिक्षा दिइरहेको छ ।

१ नं. प्रदेश सरकारले विद्यालय सुधार बहुवर्षीय गुरुयोजना अन्तरगत पूर्वाधार एवं शैक्षिक गुणस्तर वृद्धिका लागि (नमूना विद्यालय) ५ वर्षीय कार्यक्रम कार्यान्वयन गरेपछि पञ्चायत मावि प्रति अभिभावक र विद्यार्थीको आकर्षण झन बढेको हो । २०७५ मा सुरु भएको कार्यक्रम २०७७ को असार मसान्त सम्ममा ४० प्रतिशत काम सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार ५ वर्षका लागि प्रति वर्ष डेढ करोड रुपियाँ प्रदेश सरकारले दिने छ । हाल सम्म ३ करोड रुपियाँको काम सकिएको छ ।

अंग्रेजी र नेपाली माध्यमका अलग्गै भवन

प्रदेश सरकारको कार्यक्रम अनुसार विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट पढाई हुने अलग–अलग भवन निर्माण भइरहेका छन् । अंग्रेजी माध्यमबाट पढाई हुने १२ कोठे ३ तले भवनको निर्माण सम्पन्न भइसकेको छ । भवनमा ६ सय विद्यार्थीले अध्ययन गर्न सक्छन् । भवनमा अलग अलग खानेपानी, शौचालय, पुस्तकालय, कम्प्युटर ल्याव र चमेना गृहका लागि कोठाको ब्यवस्था गरिएको छ । सोही प्रकृतिको नेपाली माध्यमबाट पढाई हुने भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
नर्सिङ स्टेसन र उपचार कक्ष

विद्यालय परिरसरमा नर्सिङ स्टेसनको समेत प्रबन्ध मिलाइएको छ । प्रदेश सरकारले गत माघ देखि एक जना नर्सलाई विद्यालयमा खटाइसकेको छ । विद्यालयमा २ वेडको उपचार कक्ष राखिने भएपछि नर्सको ब्यवस्थापन गरिएको हो । नमूना विद्यालय बनेपछि आवश्यक पर्ने मापदण्डमा नर्सिङ स्टेसन पनि आवश्यक हुने गर्छ ।

विज्ञान र सिभिल इन्जिनीयरिङको आकर्षण

पञ्चायत माविमा हाल कक्षा ११/१२ मा विज्ञान, सिभिल इन्जिनीयरिङ जस्ता प्राविधिक विषय पढाई भइरहेका छन् । थोरै खर्चमा न्यून आय भएकाहरूले पनि विज्ञान र इन्जिनीयरिङ विषय अध्ययन गर्न सकुन भनेर विद्यालयले यि दुई विषय पढाउन थालेको हो विज्ञान र इन्जिनीयरिङका लागि अलग अलग भवन र ल्यावको ब्यवस्था गरिएको छ । २४ वटा कम्प्युटर ल्याव र २४ विद्यार्थीका लागि ड्रोइङ ल्याव पनि अलग अलग छन् । त्यति मात्र होइन । कानून, ब्यवस्थापन, शिक्षा र मानविकी विषय पनि पञ्चायत माविमा पढाई हुन्छ । यति धेरै शंकाय पढाई हुने पञ्चायत स्कुल बिराटनगर बाहिरको पहिलो स्कुल हो ।

प्रदेश १ कै अपाङ्गता मैत्री नमूना शैक्षिक भवन

 

पञ्चायत स्कुलले प्रदेश नं. १ कै अपाङ्गता मैत्री छात्रावास सहितको १६ कोठाको २ तले शैक्षिक भवन पनि आफ्नै विद्यालय परिसरमा बनाउने सौभाग्य पाएको छ । हाल भवन निर्माणाधीन अवस्थामा छ । अपाङ्गता मैत्री भवन बन्ने भएपछि विद्यालय प्रति आकर्षण अझ बढेको छ ।

अपाङ्गता मैत्री शैक्षिक भवनमा सय बढी विद्यार्थीको सम्पूर्ण दैनिकी भवन परिसरमा नै चल्ने छ । प्रधानाध्यापक बुढाथोकीले भन्नुभयो–८ वटा कक्षा कोठा, ४ कोठा पुस्तकालय, उपचार कक्ष (थेरापी)का लागि ४ कोठा, मनोविश्लेषणका लागि ४ कोठा र छात्राबासका लागि २ कोठा निर्माण भइरहेका छन् । प्रदेश नं. १ मा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइरहेको पञ्चायत माविमा हाल २६ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रायलले ५ वर्षे गुरु योजना अन्तरगत क्रमागत रुपमा हरेक वर्ष १ करोड रुपियाँ प्रदेश कै अपाङ्गता मैत्री शैक्षिक भवन निर्माणमा विनियोजन गरेको छ ।

वालशिक्षा देखि कक्षा ५ सम्म अंग्रेजी माध्यम

विद्यालयमा बाल शिक्षा देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने गरेको छ । अंग्रेजी माध्यमलाई अझ ब्यवस्थित बनाउन ब्यवस्थापन समिति क्रियाशील रहेको छ । कक्षा ६ देखि माथिका कक्षामा विद्यार्थीको चाप उच्च रहेको छ । तल्लो तहमा पनि विद्यार्थीको आकर्षण बढी रहेको प्रधानाध्यापक बुढाथोकी बताउनु हुन्छ । प्रधानाध्यापक बुढाथोकीका अनुसार विद्यालयमा हाल २ हजार २ सय ४० विद्यार्थीले अध्ययन गरिरहेका छन् । उहाँले भन्नुभयो ३ वर्ष अघि सम्म वालकक्षामा विद्यार्थीको अभाव थियो, अहिले विगतको तुलनामा विद्यार्थीको चाप बढेको छ । वालकक्षाका लागि छुट्टै खेल सामग्री, चमेनागृह, घेराबारा सहितको ब्लक निर्माण भइरहेको छ ।

गुरुयोजना अन्तरगत विद्यालयले आफ्नो विद्यालय परिसरलाई घेरावार लगाउने, २ तले प्रशासनिक भवन बनाउने र मञ्च निर्माण गर्ने कार्यक्रम रहेका छन् ।

सम्बन्धित खवर